
दाङ । दाङको राप्ती नदीले बगाउँदा एक जनाको मृत्यु भएको छ । राप्ती गाउँपालिका–३ कुरुरीयाका ५० वर्षीय गणेश्वर चौधरीको मृत्यु भएको हो ।
राप्ती नदीमा दाउरा खोज्ने क्रममा शनिबार बेलुका बगेर उहाँ बेपत्ता हुनुभएको थियो । आइतबार बिहान मात्रै चौधरीको शव फेला परेको छ ।
चौधरीको शव घटनास्थलदेखि तीन किलोमिटर दक्षिण राप्ती-३ बसन्तपुरस्थित राप्ती नदीमा आइतबार बिहान फेला परेको सशस्त्र प्रहरी बल नं-२९ गण हेडक्वार्टर ज्वालामाई भालुबाङका प्रमुख प्रहरी उपरीक्षक विनोद केसीले जानकारी दिनुभयो ।
सशस्त्र प्रहरी निरीक्षक धनञ्जय केसीको नेतृत्वमा तालिम प्राप्त २५ जनाको उद्धार टोली उहाँको खोजीमा खटेको थियो ।





