माओवादी केन्द्रका अग्रवाल, खडका र फारुकी जसपामा प्रवेश

नेपालगञ्ज । नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् मुस्लिम मुक्ति मोर्चाका अध्यक्ष अतहर हुसेन फारुकी र प्रदेश कमिटी सदस्य आदेश अग्रवालसहितका नेता–कार्यकर्ता जनता समाजवादी पार्टीमा प्रवेश गर्नुभएको हो ।

अग्रवाल जनता समाजवादी पार्टीबाट बाँके निर्वाचन क्षेत्र नं २ (ख) का लागि उम्मेदवार पनि बन्नुभएको छ । अग्रवाल उद्योग वाणिज्य संघ बाँकेका उपाध्यक्ष हुनुहुन्छ । त्यस्तै माओवादी निकट मुस्लिम समुदायको नेतृत्व गरिरहेका फारुकीको पार्टी प्रवेशले नेकपा माओवादी केन्द्रलाई ठूलो झट्का लागेको छ ।

प्रदेश सभा सदस्यको टिकट दिने वाचा माओवादी केन्द्रले अन्तिम समयमा आएर तोडेपछि अग्रवाल टिकट सुरक्षित गर्दै जसपा प्रवेश गर्नुभएको हो । त्यस्तै माओवादी केन्द्रका युवा नेता अम्मर बहादुर खड्काले पनि पार्टी परित्याग गरी जनता समाजवादी पार्टीमा प्रवेश गर्नुभएको छ ।

२०७४ सालको निर्वाचनमा अन्तिम समयमा टिकट नपाएपछि खड्का माओवादीबाट दुई निर्वाचन क्षेत्रबाट सिफारिस हुनुभएको थियो । तर फेरि पनि अन्तिम समयमा आएर टिकट खोसिएपछि उहाँ जनता समाजवादी पार्टी प्रवेश गरेर निर्वाचन लड्न लाग्नुभएको छ । खड्का जनता समाजवादी पार्टीबाट क्षेत्र नं १ (क) बाट उम्मेदवार बन्नुभएको छ ।

यसैगरी माओवादी केन्द्रको मुस्लिम मुक्ति मोर्चाका केन्द्रीय सदस्य बाबु हलुवाई (मोहम्मद सलिम), पूर्व वडाध्यक्ष जुम्मन खाँ, माओवादी केन्द्रका स्थानीय नेताहरू सरिक सल्मानी, रसिद कसगर, मोहम्मद रहिस हल्वाइ, मोहम्मद जुनेद कादरी, मोहम्मद अली सिद्दिकी, नवाज इद्रिसी, पंकज कुमार गुप्ता, सेराज सल्मानी पनि जनता समाजवादी पार्टीमा प्रवेश गर्नुभएको छ ।

त्यस्तै एमाले बाँकेको युवा संघ जिल्ला सहसंयोजक नोयन्द्र धिताल, एमाले जिल्ला कमिटी सदस्य मोहन कुमार वली जनता समाजवादी पार्टीमा प्रवेश गर्नुभएको छ । राप्रपाबाट सोनु हलुवाइ र मोहम्मद सलिम हलुवाई पनि जनता समाजवादी पार्टीमा प्रवेश गर्नुभएको छ ।

नवप्रवेशीलाई जनता समाजवादी पार्टीका नेता एवम् प्रतिनिधि सभा क्षेत्र नं २ बाँकेका उम्मेदवार मोहम्मद इश्तियाक राई लगायतले फूलमाला लगाई स्वागत गर्नुभएको थियो ।

Previous articleबाढी प्रभावितलाई तयारी खाजा र खानाको व्यवस्थापन
Next articleआश्रय स्थलमा बसेका बाढी प्रभावितलाई बी-ग्रुपद्धारा खाद्यान्न सहयोग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here