
राजापुर । पाँच दिनदेखि निरन्तर भएको वर्षाका कारण कर्णाली नदीमा आएको बाढीले गर्दा विस्थापित भई आश्रय स्थलमा बस्न बाध्यहरुलाई खाद्यान्नको व्यवस्थापन गरिएको छ ।
भेरी वातावरणीय विशिष्टता समुह (बी–ग्रुप) ले केएर नेपालसँग साझेदारीमा आश्रयस्थलमा बसेकाहरुका लागि सन्चालन गरिएको सामुहिक भान्साका लागि आवश्यक पर्ने चामल, दाल, आलु लगायतका खाद्य सामग्री राजापुर नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
कर्णाली नदीमा आएको बाढीबाट प्रत्यक्ष प्रभावित भएका घरपरिवारहरु समुदायको सुरक्षित स्थानमा बसेका छन् र उनीहरुलाई नगरपालिकाले सामुहिक भान्छामा खाना तयार गरी खुवाइरहेको छ ।
राजापुर नगरपालिकासँगको सम्न्वयमा संस्थाले चामल ६०० किलो, दाल १२० किलो, खाने तेल ६० लिटर, नुन १२ किलो, सोयाविन ६० किलो, खुर्सानी ६ किलो र आलु ३०० किलो गरी जम्मा ८५ हजार मुल्य बराबरको खाद्य सामग्री राजापुर नगरपालिकालाई हस्तान्तरण गरेको कुरा संस्थाका कार्यकारी निर्देशक डम्मर सुनारले बताउनुभयो ।
सामग्री वितरणमा सहभागी भएका संस्थाका कार्यक्रम संयोजक दिनेश चौधरीले ६ वटा स्थानमा सामुहिक भान्सा सन्चालन भईरहेको र उक्त स्थानमा १३ सय भन्दा बढी बाढी प्रभावितहरुले खाना खाईरहेको कुरा बताउनुभयो ।





