
प्रहलाद विश्वकर्मा, नेपालगंज । नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले बाढी र डुबान विपद्बाट प्रभावित समुदायलाई राहत वितरण कार्य शुरु गरेको छ ।
रेडक्रस बाँके र विश्व खाद्य कार्यक्रमको साझेदारीमा संचालित मौसम पूर्वानुमानमा आधारित अग्रिमकार्य सहायता कार्यक्रमद्वारा डुडुवा गाउँपालिको वडा नं. १ र नरैनापुर गाउँपालिकाको वडा नं. ५ र ६ का बाढी/डुवान प्रभावित परिवारलाई नगद प्रतिपरिवार रु. १५ हजारका दरले वितरण शुरु गरिएको हाे ।
यसैगरी नेरेसो बाँके र युनिसेफ नेपालको सहयोगमा नेपालगंज उपमहानगरपालिका वडा नं-२० का बाढी/डुबानबाट प्रभावित ५० परिवारलाई त्रिपाल, हाईजीन किट र झुल वितरण शुरु गरिएको नेरेसो मनिकापुर उपशाखाका सभापति नवराज सापकोटाले जानकारी दिनुभयाे ।
नेरेसो सीतापुर उपशाखाका सचिव यमनारायण महतोका अनुसार खजुरा गाउँपालिका वडा नं-६ का बाढी/डुबान प्रभावित २५ परिवारलाई प्रति परिवार १ थान त्रिपाल, हाईजीन किट १ सेट र झुल २ थानका दरले वितरण गरिएको छ ।
यसैगरी नेरेसो कुसुम उपशाखाका सभापति भिमाजुन देवकोटाका अनुसार राप्तीसोनारी गाउँपालिका वडा नं-१ का २८ परिवारलाई त्रिपाल र वडा कार्यालयले खाद्य सामग्री वितरण गरेको छ ।
नगद वितरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्र कुमार चौधरी, नेरेसो बाँके शाखाका मन्त्री अजीज अहमद सिद्धिकी, कोषाध्यक्ष राकेशबहादुर श्रीवस्ताव, डुडुवा गा.पा. वडा नं-१ वडा अध्यक्ष पटेश्वरी कुर्मी लगायतको सहभागिता रहेको थियो ।
यसैगरी नेपालगंज उपमहानगरपालिका वडा नं-२० को गैरखाद्य राहत वितरण कार्यक्रममा वडा अध्यक्ष कौशलकुमार धोवी, नेरेसो बाँके शाखाका मन्त्री सिद्दिकी, उपनिर्देशक दोलखबहादुर डाँगी र युनिसेफ नेपालका नरेश निदाल लगायत वडा प्रतिनिधि, नेरेसो उपशाखाका पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो ।





