दाङका रोशनी र शरदको हत्यामा संलग्न चार जना सार्वजनिक

नारायण खड्का,
दाङका रोशनी महतरा र शरद आचार्य हत्या प्रकरणमा संलग्न चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

उनीहरूको हत्यामा संलग्न रहेको भन्दै तुलसीपुर उपमहानगरपालिका वडा नं १३ दमारगाउँका ३९ वर्षीय गणेश भनिने हरिश चन्द्र पौडेल, सोही ठाउँका २८ वर्षीय नुमानन्द कार्की, ३१ वर्षीय खिमबहादुर बुढा र ४७ वर्षीय प्रकाश भनिने अम्मर राज कार्कीलाई प्रहरीले सार्वजनिक गरेको हो ।

दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीका अनुसार यी चार जनाले असोज २७ गते राति जंगली बँदेल मार्न थापेको विद्युतको पासोमा परेर रोशनी र शदरको ज्यान गएको थियो ।

तुलसीपुर १३ स्थित जनकल्याण सामुदायिक वनमा उनीहरू दुबैको शव एकै ठाउँमा पुरिएको अवस्थामा असोज ३० गते दिउँसो फेला परेको थियो।

एसपी वलीका अनुसार असोज २७ गते राति करिब १० बजेतिर गणेश भन्ने हरिष चन्द्र पौडेलको घरबाट विद्युत तार तानेर नजिकैको जंगलमा बँदेल मार्न पासो थापेको र त्यहीँ पासोमा परेर उनीहरूको सोही दिन राति मृत्यु भएको हो ।

पासो थापेका अमरराज कार्की र गणेश भनिने हरिश चन्द्र पौडल असोज २८ गते बिहान साढे ५ बजेतिर हेर्न जाँदा दुबै जना मृत अवस्थामा फेला परेको देखेपछि दुबैले सल्लाह गरी शवलाई नजिकै जंगलको झाडीमा फालेको प्रहरीले बताएको छ ।

सोही दिन दिउँसो पौडेलले शब ब्यबस्थापन गर्ने ठाउँ हेरेको र बेलुका नौ बजेतिर बोरामा हाली चारै जनाले सल्लाह गरेर शब फालेको तथ्य खुलेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो ।

शब गाड्न अमरराज कार्कीको घरबाट फरूवा ल्याएको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यसपछि उनीहरूले रोशनी र शरदको साथमा रहेका मोवाईल र चप्पलसमेत जंगलको झाडीमा लुकाएको प्रहरीले बताएको छ ।

पक्राउ परेका चारै जनालाई कर्तब्य ज्यान मुद्दा चलाउने प्रहरीले तयारी गरेको छ । उनीहरू बिरूद्ध थप अनुसन्धानका लागि एक साताको म्याद थप भइसकेको छ ।

यी बाहेक अन्य सात जनालाई प्रहरीले (अन्य कसुर अन्तर्गत) मुद्दा चलाउने भएको छ । प्रहरी घटना अनुसन्धानका क्रममा पक्राउ परेका हेटौंडाका टिपर चालक र सल्यानका गाडी चालकलाई पनि सोही शीर्षकमा मुद्दा चलाउने भएको छ । यद्यपि उनीहरूको रोशनी र शरद मृत्यु प्रकरणमा कुनै संलग्नता नरहेको प्रहरीले स्पष्ट पारेको छ ।

उनीहरूले घटना स्वीकार गरि प्रहरीलाई अलमल्याउने र दिगभ्रमित पार्ने काम गरेकाले मुद्दा चलाउन लागिएको एक प्रहरी अधिकारीले जानकारी दिनुभयो ।

तुलसीपुर १३ डाँडागाउँकी १५ वर्षीया रोशनी महतरा र दंगीशरण गाउँपालिका वडा नं ६ थपगाउँ घर भई तुलसीपुर १३ दमारगाउँ स्थित मामाघर बस्दै आएका १४ वर्षीय शरद आचार्यको शव असोज ३० गते दिउँसो भेटिएको थियो ।

उनीहरू घरबाट असोज २७ गते रातिदेखि बेपत्ता थिए । यी दुबै राति एक आपसलाई भेट्न निस्किएको समयमा विद्युतीय पासोमा परेका थिए । सेतोपाटीबाट साभार

Previous articleकैलालीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु
Next articleडुडुवाको सन्तलियाबाट दुई थान सालको गोलिया बरामद

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here