
काठमाण्डौं । नेपालगन्ज म्याराथनलाई नेपालगञ्जका नगरबासीले अपनत्वबोध गरेको आफूले अनुभव गरेको नेपाली सिनेजगतका महानायक राजेश हमालले बताउनुभएको छ ।
नेपालगन्ज म्याराथान शुक्रबार आयोजित पत्रकार सम्मेलनमा हमाल गतवर्ष आफू म्याराथनमा सहभागी हुँदा त्यसको माहोलबाट प्रभावित भएको बताउनुभयो । उहाँले प्रतियोगिताले शहर र देशलाई नै अन्तराष्ट्रिय स्तरमा चिनाउने अवसरका रुपमा लिनसक्नु पर्ने पनि बताउनुभएको छ ।
सोही अवसरमा एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स) बाट नेपालगन्ज म्याराथनलाई प्राप्त सदस्यता पत्र हमालले नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट र कोहलपुर नगरपालिकाका मेयर पूर्ण आचार्यलाई हस्तान्तरण गर्नुभयो ।
नेपालगन्ज म्याराथन ऐम्सबाट रुट प्रमाणित र ऐम्सको सदस्यता प्राप्त एक मात्र नेपालको म्याराथन हो । त्यसैको जानकारी दिने उद्देश्यले आयोजकले पत्रकार सम्मेलनको आयोजना गरेको थियो ।
नेपालगन्ज उपमहानगरपालिकाका मेयर विष्टले नेपालगन्ज उपमहानगर नेपालगन्ज म्याराथनको अभिभावकत्व लिन तयार रहेको बताउनुभयो । कोहलपुर नगरपालिकाका मेयर आचार्यले पनि म्याराथनको अपनत्वबोध भएकाले स्थानीय सरकारबाट गर्न सक्ने सहयोगका लागी आफूहरु तयार रहेको बताउनुभयो ।
नेपालगन्ज म्याराथनका संरक्षक सदस्य रघुराज वन्तको सभापतित्वमा सम्पन्न पत्रकार भेटघाट कार्यक्रममा धावक गोपीचन्द्र पार्की र सन्तोषी श्रेष्ठले नेपालगन्ज म्याराथनमा सहभागी हुँदाको अनुभव सुनाउँदै नेपालगन्ज म्याराथनको रुट अन्तराष्ट्रिय स्तरमा उत्कृष्ट रहेको बताउनुभयो ।
नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टि.एस.ठकुरीले नेपालगन्ज म्याराथनलाई सभ्य र भब्य रुपमा सम्पन्न गर्न सबैको साथ आवश्यक रहेको बताउनुभयो । सर्वप्रथम, तपाईहरुसँग खुशी बाँड्न चाहन्छौं । तपाईंहरुको स्नेह, साथ र सहयोगले नेपालगन्ज म्याराथन अन्तर्राष्ट्रिय मञ्चमा जोडिन पुगेको छ । यसको सम्पुर्ण श्रेय सरोकारवालालाई दिन चाहन्छौं ।, ठकुरीले भन्नुभयो, नेपालबाट नेपालगन्ज म्याराथनले एम्सबाट सदस्यता प्राप्त गर्न सफल भइ एम्सको क्यालेन्डर र डाइरेक्टरीमा सुचिकृत भएको छ । यो तपाईं हामी सबैका लागि खुशीको कुरा हो ।
हरेक वर्ष आयोजना हुने नेपालगन्ज म्याराथनको आठौं संस्करण यसपटक मंसिर २४ गते शनिबार हुने भएको छ । हरेक बर्ष मंसिरको पहिलो शनिबार आयोजना हुँदै आएको नेपालगन्ज म्याराथन आमनिर्वाचनका कारण तीन साता पछाडि सारिएको हो । नेपाल सरकार र विद्रोही माओवादीबीच बृहत शान्ति सम्झौता भएको दिन मंसिर ५ गतेलाई स्मरण गर्दै हरेक मंसिरको पहिलो शनिबार हुँदै आएको म्याराथनको तयारी द्रुत गतिमा अगाडि बढाइएको छ ।
क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा हुने आठौं धारा नेपालगन्ज म्यराथनलाई केएल दुगड ग्रुपले मुख्य प्रायोजन गरेको छ । नेपालगन्जको अर्को प्रतिष्ठित व्यवसायिक घराना शिखर प्लाईले सहप्रायोजन गरेको छ । कान्तिपुर टिभी पावर्ड बाइ पार्टनरका रुपमा रहेको छ ।
होटल सोल्टी वेष्टइन्ड प्रिमियर हस्पिटालिटी पार्टनर, भायोनेट आईएसपी पार्टनर, बडवाइजर सेलिब्रेसन पार्टनर, सगरमाथा सिमेन्ट स्ट्रेन्थ पार्टनर, नेपाली पात्रो कम्युनिटी पार्टनर, दराज इकमर्स पार्टनर, हाम्रो खेलकुद डट कम ब्रोडकास्ट पार्टनर, जिनेपाल फोरके टिभी टेलिभिजन पार्टनर, दैनिक नेपालगन्ज प्रिन्ट मिडिया पार्टनर, नेपालगन्ज ग्यालेरी र कोहलपुर ग्यालेरी सोसल मिडिया पार्टनर रहेका छन् । नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, लुम्बिनी खेलकुद परिषद, राष्ट्रिय खेलकुद परिषद महत्वपुर्ण साझेदारका रुपमा रहेका छन् ।
यसबर्ष नेपालगन्ज म्याराथनमा ४२.१९५ किमी, २१ किमी, १० किमी र ५ किमी गरी चार रेशलाई एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश(एम्स)ले प्रमाणीकरण गरेको छ । हरेक खेलाडीका लागि अब नेपालगन्ज म्याराथन प्रवेशद्वारका रुपमा रहनेछ । यो नेपालगन्जका लागि, लुम्बिनी प्रदेशका लागि र नेपालका लागि उपलब्धिमुलक रहनेछ । यो हामी सबैको लागि खुशीको कुरा हो ।
गत बर्ष झैं यस बर्ष पनि बिभिन्न ११ वटा विधामा स्पर्धा समावेश गरिनेछ । कर्पोरेटतर्फ महिला यसबर्ष थप गरिएको हो । पुरुषतर्फ म्याराथन(४२.१९५किमी), महिलातर्फ हाफ म्याराथन(२१किमी), १० किमी पुरुष खुल्ला, ५ किमी महिला खुल्ला, ५ किमी स्कुलस्तरीय छात्र, ३ किमी स्कुल स्तरीय छात्रा, किड्स रन(८देखि १२ बर्ष उमेरसमुह), २ किमी कर्पोरेट रन पुरुष तथा महिला, एक किमी ट्राइसाइकल र वाकाथन समावेश गरिएको छ ।
स्कुलस्तरीय दौड भने बाँके जिल्ला स्तरीय मात्र हुनेछ । साथै बिभिन्न विधालाई समेट्दै पुरस्कृत गरिनेछ । सहभागिता एवं भव्य बनाउने आधारमा शैक्षिक संघसंस्था, क्लब, आमा समुह, वडा समिति, बिभिन्न भेषभुषा र कला सम्बन्धि बिषयमा समेत मुल्यांकन गरी पुरस्कृत गरिनेछ । केही नगद पुरस्कार राशीमा वृद्धि गरिनेछ । केही सरप्राइज प्याकेज पनि घोषणा गरिनेछ ।





