
नेपालगञ्ज । संचारकर्मी उदयराज जैसवालका निधन भएको छ । बाँकेको डुडवा गाउँपालिका वडा नं ३ बनकट्वा निवासी ३५ वर्षीय जैसवालको आइतबार बिहान घरमै निधन भएको हो ।
लामो समयदेखि अस्वस्थ रहनुभएका जैसवालको घरमै उपचार भइरहेको थियो । करिब ३ महिनाअघि ब्रेन ह्यामरेज भएपछि नेपालगञ्ज मेडिकल कलेजमा उपचार गरि थप उपचारका लागि भारतको लखनउमा उपचार भएको थियो ।
एक महिनासम्म लखनउमा उपचार गराउँदा सन्जो हुन समय लाग्नेभएपछि डाक्टरकै सल्लाहमा घरमा राखेर उपचार प्रक्रिया चलिरहेको थियो ।
जैसवालले बाँकेको बिभिन्न संचार संस्थामा काम गर्नुभएको छ । शुरुवाती चरणमा रेडियो भेरी अवाज, बागेश्वरी एफ एम, रेडियो हिमाल, नेपालगञ्ज एफ एम र पछिल्लो समय डुडुवामै संचालनमा आएको रेडियो सफल एफ एममा म्यानेजरको जिम्मेवारी निर्वाह गर्दै आउनुभएको थियो ।
बाँकेमा बाल क्लबहरु निर्माण गर्ने बेलादेखि नै जैसवालको जनचेतनामूलक कार्यक्रमहरुमा सहभागिता रहने गथ्र्यो । संचारकर्मसंगै कलाकारितामार्फत समेत जैसवालले आफुलाई चिनाउनुभएको छ भने अवधी भाषा, कला क्षेत्रको संरक्षणमा जैसवालको उल्लेख्य योगदान रहेको छ ।





