
नेपालगञ्ज । कुनै समय नेपाली चलचित्र हेर्न नाक खुम्क्याउने दर्शकहरु आजभोलि नयाँ सिनेमा कहिले रिलिज हुन्छ भन्ने पर्खाइमा बसिरहेका हुन्छ्न ।
पछिल्लो समय नेपाली चलचित्र एकपछि अर्को लगातार रिलिज हुने क्रम बढ्दो छ र प्राय सबै सिनेमा दर्शकको रोजाई कै बन्ने गरेको हामीले अड्कल गर्न सक्छौ । यसैक्रममा तिहारको अवसर पारेर चलचित्र “महापुरुष” कार्तिक ११ गतेदेखि देशभर एक साथ प्रदर्शनमा आएसंगै सबै उमेर समूहका दर्शकले सिनेमा मन परेको र हरेक परिवारले हेर्नुपर्ने सिनेमा भएको प्रतिक्रिया दिएका छन् ।
युबा व्यवसायी राजकुमार गिरीले लामो समयपछि सबै परिवारका साथ सिनेमा हेरेको र मन छुने कथा भएको बताउछन् । बेलाबेला कमेडी र कुनै समय भाबुक बनाउने चलचित्रको कथा बस्तुले आफ्नो मन छोएको बताए ।
यस्तै गृहिणी बसन्ती मल्ल पनि आफ्नो सपरिवार बुवालाईसमेत लिएर सिनेमा हेरिन । ‘मेरो मुवा पनि धेरै वर्ष भयो बितेको, मेरो आफ्नै बुवा मुवाको कथा जस्तो लाग्यो मेरो बुवालाई सम्झिए,’ मल्लले भनिन्, ‘बुवा पनि निकै भावुक देखिनुभएकाे थियो ।’ सबै कुरा भएता पनि आफुलाई साथ दिने साथी जीवनमा निकै महत्त्वपूर्ण भूमिका रहेको मार्मिक कथा सिनेमाले समेटेको छ ।
षट्कोण आर्ट्सको व्यानरमा सिनेमाका कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ हुन् भने निर्मातामा दिपेश खत्री म्याक्स रहेका छन् । चलचित्रलाई प्रदिप भट्टराईले निर्देशन गरेका छन् । नेपाली चलचित्र क्षेत्रमा प्रदिप भट्टराई स्थापित नाम पनि हो । उनले यसअघी ‘जात्रा’, ‘शत्रु-गते’, ‘जात्रै-जात्रा’ नामक सिनेमा निर्देशन गरिसकेका छन्।
एकल पुरुषको कथामा आधारित चलचित्र हो “महापुरुष” । श्रीमतीको निधनपछि घरको सम्पुर्ण जिम्मेवार छोरा-छोरीको लालन-पालन गर्दा गर्दै एकल पुरुष बुवाको समय बित्दै जान्छ । एकल पुरुषलाई समाजले हेर्ने कु-नजर आमाको मृत्यु, आफ्नो सम्पुर्ण खुशी र चाहना त्यागेर दुई छोराहरुलाई हुर्काइ बढाई, जवान बनाउने काम बुवा अर्थात महाजोडीका एक पात्र हरिबंश आचार्यले निभाएका छन् ।
दुई छोराहरु रबिन्द्र बानिया र अरुण क्षेत्री आआफ्नै तालमा रमाइरहेका हुन्छ्न् । बुवालाई घरको सहयोगीको रुपमा लिएको देखाइएको छ । आफूले जतिसुकै दुःख पाएता पनि छोराहरुलाई खुशी पार्न बुवा हरिबंश आचार्यले कुनै कसर बाँकी नराखेको कुराले दर्शकलाई भावुक बनाउँछ ।
छोरा-छोरीको माया र स्याहार पाउने बेलामा बुढेसकालमा बुवाले नै छोराहरुको स्याहार गर्नु परेको दृश्य छ । जेठो छोरा आफ्नो श्रीमती, छोरा-छोरीसहितको परिवारसंगै बस्छ भने कान्छो छोरा जसरी नि वैदेशिक यात्रामा जानको लागि नर्ससंग बिबाह तय भएपछि सबै आ-आफ्नै दुनियाँमा मस्त हुन्छन् ।
आजभोलिको युवा-युवतीमा जसरी पनि बिदेश जानको लागि पेपर म्यारिज गरेर भएपनि जाने कुरालाई यथार्थ देखाएको छ । घर परिवारमा सबै हुँदाहुँदै पनि बुढेसकालमा हुने एक्लोपन र अत्यासको आभाश, छोरा-छोरीले गर्ने व्यवहार निकै सरल तरिकाले पस्किएको छ ।
एकल पुरुषलाई समाजले हेर्ने नजर कोही पर-स्त्रीसंग देखभेट, गफगाफ गर्दा हुने शंका उपशंका, उस्ले गरेको क्रियाकलापले समाज, टोल नै दुर्गन्धित हुनेसम्मको डर समाज र छिमेकीले गरेका छ्न ।
कथाबस्तु यहि सेरोफेरोमा घुमिरहँदा गौरी मल्लको प्रवेश हुन्छ र हरिबंश र गौरीको सामान्य चिनजान, दैनिक भेटघाट, घुमघाम भिडियो कल र सेल्फी पिकसम्मको सम्बन्ध अगाडी बढ्दै जान्छ ।
बुवाको यहि सम्बन्धकै क्रममा जेठो छोराको पुस्तक बिमोचन र सानो छोराको पेपर बिबाह हुने अन्तिम निर्णयमा समाजले अझै नुन र चुक थप्ने काम गर्दा बुवा र छोराहरुको बिग्रिएको सम्बन्धमा अझै सामिप्यताको दुरि बढाइदिन्छ ।
बुढेसकालमा घर परिवारबाट दिक्क्दार खेपेको र घर परिवारमा जतिसुकै रमाइलो भएता पनि एक्लोपनको आभाश गरेका हरिबंश जीवनको नयाँ साथी गौरी मल्ल आएपछि उहाँकै दैनिकी फेरबदल भई मनमा उमंग, घुम्ने, रमाईलो गर्ने सबै फेरिँदै जान्छ ।
बुवाको जीवनमा को आयो भनेर रिसले चुर भएका दुबै छोराको कारणले गर्दा छोटो समयमा गौरी मल्ल आफ्नै बाटोमा मोडिन बाध्य बन्नुपर्छ । त्यसपछि हरिबंशमा अझै एक्लोपना छाउँछ ।
अन्त्यमा बुवा बिरामी हुँदा बुवाको चाहना के ? बुवाको खुशी के ? पत्ता लगाइ बुवालाई सबै हुँदा हुँदै पनि एक्लोपनको आभाश रहेको हुँदा बुवाको जीवनमा खुशी भर्न जसरी भएपनि हुने वाला कान्छी आमा गौरी मल्ललाई खोजेर बुवाको बिवाह गराउने निर्णयमा कान्छो छोरा पुग्छ ।
अरुणले त्यसपछि महसुस गर्छ समाजको पछाडी परेर होइन राम्रो कामको शुरुआत आफैबाट गर्ने निर्णय लिनुपर्छ । समाजलाई बदल्न ।
छोराको इन्गेजमेन्ट भइसकेर बिवाहको मिति तय भैसकेको हुन्छ । यही समयमा बुढेसकालमा दुलहाको बुवाले बिबाह गर्दै छ्न भन्ने कुरा बाहिर आएपछि छोरीको बिवाह क्यान्सिल गर्ने महाजोडी मदन कृष्ण श्रेष्ठको निर्णय कडा देखिन्छ ।
अन्तमा बुवाको खुशीको लागि बरु आफूले बिवाह नगर्ने निर्णयमा कान्छो छोरा अरुण पुग्छ्न । उता दोस्रो बिवाहको बिरुद्धमा बोल्ने मदन कृष्णले पनि पहिलो बिवाहको श्रीमती र छोराछोरी छाडेर यो दोस्रो बिवाह भएको हिरोइनको आमाले खुलाउछिन् ।
अन्तमा सबैको सहमतिमा बुवा छोराको एउटै मण्डपबाट बिवाह हुन्छ । रमेर मिलेर बस्दा परिवारमा कति खुशी उमंग थपिन्छ यो निकै मन छुने गरि देखाइएको छ ।
चलचित्रमा अरुण क्षेत्री र अन्जना बराइलीको मुख्य भुमिका छ । अन्जनाको यो डेब्यु मुभि हो भने अरुणले केही म्यूजिक भिडियो खेलेका छन र उनको पहिलो मुभी रेनिशा राई वान्तवाद्वारा निर्देशित “आइ एम २१” हो । यो मुभी प्रदर्शनमा आएको छैन । सानैदेखि हिरो बन्ने सपना देखेका अरुणको छ बर्षको मेहनतपछि पर्दामा देखिने सपना पूरा भएको बताए ।
जापानमा पुरै परिवारसंग बस्ने अरुणले अभिभावकलाई मनाउन लामो प्रयासपछि सफल भएको र अहिले सिनेमा हेर्दा ममि, बुवा, दाइ र बहिनी सबैभन्दा बढि खुशी भएको जानकारी दिए । नेपाली चलचित्र क्षेत्रले आशा लाग्दो नायक भित्र्याएको छ अरुणलाई ।
अगामी दिनमा दर्शकको माया मिलोस । अहिले पनि सिनेमा हेर्ने दर्शकको कमि नदेखिएको दैनिक हुने हाउस फुल शो ले देखिएको नेपालगञ्जस्थित बागेश्वरी क्यू एफ एक्स सिनेमाका म्यानेजर संजिब शाक्यले बताए । शाक्यका अनुसार आइतबार मात्र दूई लाखको हाराहारीमा व्यापार गरेको छ ।
देशभरि दर्शकको निकै राम्रो सपोर्ट पाएको चलचित्रले नेपालगञ्जमा पनि एकदमै राम्रो ब्यापार गरेको सिनेमा हेर्न प्राय सपरिवार आउने गरेको र सबै दर्शकबाट सिनेमाबारे उत्कृष्ठ भएको प्रतिक्रिया रहेको चलचित्र पत्रकार संघ बाँकेका अध्यक्ष रामचन्द्र पौडेल बताउँछन् ।






