
बाँके । आइसोलेसन सेन्टरमा बसेकाहरुका लागि स्वास्थ्य सुरक्षाका सामाग्रीहरु प्रदान गरिएको छ । सेन्टरमा बस्ने महिला तथा पुरुषलाई एक आपसमा सुरक्षित बनाउन सकिने स्वास्थ्य सुरक्षाका सामाग्रीहरु आइतबार नेपालगञ्ज उपमहानगरपालिकालाई सहयोग प्रदान गरिएको हो ।
नेपालगञ्जस्थित सामाजिक बिकास मञ्च (एसडिएफ) ले सेफ द चिल्ड्रेनको सहयोगमा आइतबार तीन लाख ३७ हजार ४ सय ४० बराबरको स्वास्थ्य सुरक्षाका सामानहरु उपमहानगरपालिकालाई हस्तान्तरण गरेको छ ।
युवा शशक्तिकरण बुलगारी परियोजना अन्तर्गत प्रदान गरिएको सामाग्री नेपालगञ्जकी उपमयेर उमा थापा मगर र उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख राम बहादुर चन्दले ग्रहण गर्नुभएको थियो ।
सो क्रममा उपमेयर थापाले संस्थाले निरन्तर सहयोग गरिरहेको र यसरी भइरहेको सहयोगले क्वारेन्टिन तथा आइसोलेशन व्यवस्थापनमा सहज भएको प्रतिक्रिया दिनुभयो । उहाँले महामारीका बेला संस्थाले गरिरहेको निरन्तरको सहयोगका लागि धन्यवाद समेत दिनुभयो ।
प्रदान गरिएको सामानहरुमा आइसोलेशन सेन्टरमा रहेका महिला तथा पुरुषका लागि किट रहेको छ । पुरुष किटभित्र ज्वरो जाँच गर्ने धर्मोमिटर, मास्क, स्यानिटाइजर र ग्लब्स तथा महिला किटभित्र पुरुष किटका सबै सामानहरुसंगै स्यानेटरी प्याड रहेको मञ्चका कार्यक्रम संयोजक राम श्रेष्ठले जानकारी दिनुभयो ।
एक जनालाई दिने किट आइसोलेसन सेन्टरमा बिताइने १४ दिनसम्मलाई पुग्ने गरी प्रदान गरिएको छ । कोरोना महामारीको प्रकोप बढेपछि नेपालगञ्जमा सबै क्षेत्रले सक्दो सहयोग र नियन्त्रणमा सक्रियता देखाईरहेका छन् ।
यस्तो महामारीका बेला आ–आफ्नो ठाउँबाट सबैले सक्दो सहयोग गर्नुपर्ने सेफ द चिल्ड्रेनकी बुलगारी परियोजना संयोजक फुलकुमारी चौधरीको भनाई छ । उहाँका अनुसार संस्थाले महामारी नियन्त्रणका लागि पटक पटकमा बिभिन्न सामाग्रीहरु उपमहानगरपालिकालाई सहयोग प्रदान गरिएको छ ।





