
नेपालगञ्ज । नेपाली कांग्रेसका सह-महामन्त्री किशोरसिंह राठौरले पार्टीमा पद लिएर ठालू बन्ने प्रबृत्तिको अन्त्य हुनुपर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेस बाँकेले आज पार्टी कार्यालय नेपालगञ्जमा लोकतान्त्रिक-बाम गठबन्धनका तर्फबाट नवनिर्वाचित प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यहरुलाई बधाई दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै राठौरले पद लिएर पदलाई न्याय गर्न सक्नुपर्ने बताउनुभयो ।
‘पार्टी भन्दा ठूलो नबन्नुस्, पद लिएर पदलाई न्याय गर्नुस्, अवसर नपाउँदा पार्टीलाई गाली गर्ने तर अवसर पाएपछि ठालू बन्ने संस्कारको अन्त्य हुनुपर्दछ,’ उहाँले भन्नुभयो, ‘दलाली गर्न कांग्रसमा लाग्ने हो भने आजैदेखि पार्टी छोड्नुस् ।’ उहाँले पार्टीमा अनुशासन हराउँदै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
बाँकेको क्षेत्र नम्बर ३ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहनुभएका सहमहामन्त्री राठौरले बाँके र बर्दियालाई विकासको मूल प्रवाहमा जोड्ने गरी आफूले काम गर्ने बताउनुभयो ।
‘सुशिल दाईले एडिबी ल्याएर नेपालगञ्जको विकास गर्नुभयो, बाँके बर्दियामा अन्य आयोजनाहरु पनि सुरु गर्नुभयो, अब सुशिल दाईले सुरु गरेका आयोजनालाई गति दिने काम म गर्छु ।,’ उहाँले भन्नुभयो ।
केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट विजयी भएका उम्मेदवाहरुलाई बधाई ज्ञापन गर्दै जनपक्षीय काम गर्न आग्रह गर्नुभयो ।
पार्टी सभापति नारायणप्रसाद गौडेलले सिट बाँडफाँड र टिकट वितरणमा ढंग नपुर्याउँदा गठबन्धनले साचे अनुरुपको परिणाम ल्याउन नसकेको बताउनुभयो । उहाँले यसअघिका चुनावमा पार्टीलाई घात गरेको आरोप लागेर कारावाहीका लागि सिफारिस भएका नेताहरुलाई समानुपातिकतर्फ सांसद बनाउन नहुनेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो अनुशासनको कारवाहीका लागि सिफारिस भएकाहरु सांसद बन्न हुँदैन, यसले अराजकता बढाउँछ, म सहमहामन्त्री ज्यूलाई भन्न चाहन्छु, त्यस्ता मान्छेलाई सांसद बनाउँदा पार्टीमा झन अनुशासनहिनता बढ्छ । उहाँले स्थानीय र संघ तथा प्रदेशको चुनाव सकिएको भन्दै नेपाली कांग्रेस बाँके अब संगठन बनाउन केन्द्रित हुने बताउनुभयो ।
सभापति गौडेलको सभापतित्वमा भएको कार्यक्रममा लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट लुम्बिनी प्रदेशसभामा नवनिर्वाचित सदस्यद्वय बादशाह कुर्मी र कृष्णा केसी नमुना लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा नवनिर्वाचित राठौर, कुर्मी र नमुनालाई माला र दोसल्ला ओढाएर बधाई तथा सम्मान व्यक्त गरिएको थियो । उपसभापति गोपालप्रसाद अधिकारीले स्वागत मन्तब्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव सुधांशु कोइरालाले गर्नुभएको थियो ।





