
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नं-२१ को तेलियनपुर गाउँलाई पूर्ण सरसफाई उन्मुख नमूना टोल घोषणा गरिएको छ ।
मंगलबार एक समारोहकाबीच नेपालगञ्ज उपमहानगरपालिका नगर प्रमुख प्रशान्त बिष्टले टोललाई पूर्ण सरसफाई उन्मुख नमूना टोल घोषणा गर्नुभएको हो । कार्यक्रममा बोल्दै नगर प्रमुख बिष्टले नेपालगञ्जका अन्य टोललाई पनि सरसफाईतर्फ सक्रिय बनाउन अनुरोध गर्नुभयो ।
यस्तै वडा नं-९ को समाबेशी टोललाई घोषणा तयारी गरिएको बताउँदै घोषणा गर्न गेरुवालाई अनुरोध गर्नुभयो । सम्बोधनकै क्रममा टोलस्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिलाई ११ हजार र किशोरी क्लबलाई ५ हजार पुरस्कार उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो । गाउँमा रहेको सबै घरधुरीमा सरसफाई उन्मुख घरको मापदण्ड पुरा गरेकाले गाउँलाई नमूना गाउँका रुपमा घोषणा गरिएको छ ।
नमूना टोल घोषणासंगै खुल्ला स्थानमा दिसा पिसाब गर्न रोक, अन्य उमेर समूहसंगै बच्चाको दिसा पिसाब समेत चर्पीमा मात्र व्यवस्थापन गर्नुपर्ने, जाखिमपूर्ण अवस्थाहरु (खाना खानु अघि, खाना पकाउनु अघि र बच्चालाई खाना खुवाउनु अघि, दिसा पिसाब गरेपछि बच्चाको दिसा धोएपछि र कुनै बस्तु वा फोहोर छोएपछि) साबुन पानीको प्रयोग अनिवार्य, कुहिने र नकुहिने फोहोरको छुट्टा छुट्टै व्यवस्थापन गर्नुपर्ने, प्लास्टिकजन्य बस्तु जथाभावी फाल्न रोक, चर्पी भरिएर लेदो ननिस्कँदै ३ देखि ५ वर्ष भित्रमा सेफ्टी ट्याँकरबाट खाली गराउने र महिनावारी हुँदा प्रयोग गरिएको प्याड जथाभावी नफ्याकी निश्चित स्थान वा खाडलमा बिसर्जन गर्ने मापदण्डहरु निर्माण गरिएको छ ।
साथै मापदण्ड बिपरित कार्य भएमा जरिवाना असुल पनि गरिने जनाइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको समन्वय सहकार्यमा एन एन भि नेपालको आर्थिक सहयोगमा गेरुवा ग्रामीण जागरण संघ बर्दियाले संचालन गरेको स्वास्थ्य र बिकासका लागि नगर सरसफाई तथा स्वच्छता परियोजनामार्फत तेलियनपुरलाई पूर्ण सरसफाई उन्मुख नमूना टोल घोषणा गरिएको छ ।
घोषणा कार्यक्रममा नेपालगञ्ज वडा नं २१ वडा वडा अध्यक्ष राजकुमार साहू, वडा नगरस्तरीय वास कार्यदल संयोजक तथा वडा नं ६ का वडा अध्यक्ष समिर प्रताप सिंह, वडा नं ९ का वडा अध्यक्ष गोबिन्द रेग्मी, नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत जागेश्वर बस्नेत, वातावरण तथा सरसफाई शाखाका इन्जिनियर प्रकाश डिसी, वडा नं २१ का वडासचिव सुर्य नेपाली, वडा नं २१ स्वास्थ्य चौकी प्रमुख नन्दा सेन, महाराजा माध्यमिक बिद्यालय पुरैनाकी प्रधानाध्यापक मन्जु शर्मा, एन एन भि नेपालका सहरी अधिकृत सुरज राजभण्डारी, गेरुवाका परियोजना संयोजक गफ्फार अलि शेष लगायतको उपस्थिति रहेको थियो ।
घोषणा कार्यक्रममा किशोरी क्लबमा आवद्ध किशोरीहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए भने घोषणा अघि टोलमा र्याली निकालिएको थियो । तेलियनपुरमा ८५ घरधुरी रहेको छ ।







