दाइजोको नाममा हत्या गरिएको भन्दै पीडित पक्षको प्रदर्शन

रुपा गहतराज
नेपालगन्ज । बाँकेमा एक महिला कोठामा मृत भेटिएपछि मृतकका परिवारले दाइजोको नाममा हत्या गरेको भन्दै प्रदर्शन गरेका छन् ।

गत कात्तिक १६ गते बाँकेको राप्तीसोनारी गाउँपालिका ७ पिप्रहवाकी अफसरुल खान आफ्नै कोठामा झुण्डिएको अवस्थामा भेटिएको भन्दै उक्त घटनाबारे अनुसन्धान गर्न मृतकका आफन्तले माग गरेका हुन् ।

खान काखमा रहेको ९ महिनाको छोरोलाई बाहिर राखेर आफ्नै कोठामा झुण्डिएको अवस्थामा भेटिएकी थिइन् । उक्त घटनालाई लिएर बुधबार पीडित परिवारको पक्षमा महिला अधिकार्मी सडकमा उत्रिएका छन् ।

उनीहरूले जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालत पुगेर निष्पक्ष छानबिनको माग गरेका हुन् । प्रदर्शनमा सहभागी नेतृ बिन्दु चर्ती मगरले दाइजोको नाममा एउटी महिलामाथि निर्मम रुपमा हत्या गरिएको भन्दै प्रहरीले यसमा छानबिन गर्नुपर्ने बताउनुभयो ।

छोरीको हत्या गरिएको र त्यसलाई प्रहरीले आत्महत्या भन्दै घटनाको अनुसन्धान नगरेको पीडित परिवारको आरोप छ । मृतकका बुवा मो.वाहव खानले प्रहरीले हत्याको मुद्दामा घटनाको अनुसन्धान गर्नुपर्ने माग गर्नुभयो ।

प्रहरीका अनुसार मेडिकल रिपोर्टमा आत्महत्या देखिएको छ । प्रहरीको प्रारम्भीक अनुसन्धानमा पनि यो आत्महत्या भएको देखिएको बताइएको छ ।

यद्यपि प्रहरीले मृतकका पति र जेठाजुलाई पक्राउ गरी आत्महत्या दुरुत्साहन मुद्दा चलाएको बताइएको छ । शरीरका बिभिन्न भागमा कुटपिट गरिएको निलो डाम देखिएको र घाउ रहेकाले हत्या भएको आरोप लगाउँदै पीडित पक्षले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गर्नुपर्ने माग गर्दै आएको छ । कान्तिपुरबाट

Previous articleपत्रकार महासंघकाे निर्णय : स्वास्थ्य उपचार काेष बनाउने र मंसिर २५ भित्र सदस्यता नविकरण खुल्ला
Next articleबाँकेमा ५३८ जना एच आई भी संक्रमित एआरटी उपचार लिँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here