नेपथ्यको कन्सर्ट हेर्न जाऔं, मानव सेवामा योगदान पुर्यौं

नेपालगञ्ज । नेपालगञ्जमा मंसिर २९ गते हुने नेपथ्य लाइभ कन्सर्टको तयारी तीब्र पारिएको छ । मानव सेवा आश्रमले नेपालगञ्ज रंगशालामा गर्न लागेको कन्सर्टका लागि तयारी तीब्र पारिएको जनाइएको छ ।

नेपालगञ्जमा आज पत्रकार सम्मेलन गरेर आयोजकले आश्रमको भवन निर्माणार्थ गर्न लागिएको कन्सर्टका लागि टिकट विक्री नै प्रमुख स्रोत भएकाले टिकट विक्रिलाई नै पहिलो प्राथमिकता दिएर तयारी र सक्रियता बढाइएको जनाएको छ ।

मूल समिति संयोजक कृष्णप्रसाद श्रेष्ठले कन्सर्ट अवलोकनका लागि धेरै भन्दा धेरै जनाको उपस्थिति गराएर कार्यक्रम सफल बनाउन सबैलाई आग्रह गर्नुभयो ।

श्रेष्ठको संयोजकत्वमा मूल समिति, शुक्रऋषि चौलागाईको संयोजकत्वमा मिडिया तथा प्रचारप्रसार व्यवस्थापन समिति, जयनाराण शाहको संयोजकत्वमा सुरक्षा तथा समारोह स्थल व्यवस्थापन समिति लगायत ११ वटा विषयगत उपसमितिहरु बनाइएका छन् ।

सहयोगापेक्षी सडक आश्रित मानवहरुको सेवा गर्दै आइरहेको मानव सेवा आश्रमले नेपालको चर्चित व्याण्ड नेपथ्यसंगको सहकार्यमा मानव सेवा आश्रमको भवन निर्माण र आश्रितको स्वास्थ्य उपचारका लागि आपतकालीन अक्षयकोष स्थापनार्थ कार्यक्रम गर्न लागेको मिडिया तथा प्रचारप्रसार व्यवस्थापन समिति संयोजक चौलागाईले बताउनुभयो ।

मानव सेवा आश्रमले समाजसेवी तथा दानवीर जैकेश सिंहले मानव सेवा आश्रमको भवन निर्माणका लागि डुडुवा गाउँपालिका वडा नम्बर ६ मा १० कट्ठा जग्गा दान गरेपछि निर्माण प्रक्रिया सुरु गरेको छ ।

मानवताका लागि सांगीतिक यात्रा नेपथ्य लाइभ कन्सर्ट किन ?

१. कम्तिमा देशभर निर्माण भइरहेका र निर्माण सुभारम्भ हुन लागेका मानवीय मन्दिर मानवसेवा आश्रमको निर्माणाधिन भवन लाई पूर्णता दिई भाडाको घरमा रहेको मानवसेवा आश्रमलाई आफ्नै भवनमा सार्न ।

२. सयौको संख्यामा असहाय, अशक्त, अभिभावकविहीन, शारिरिक तथा मानसिकरूपमा अति कमजोर मानवहरु रहेको मानवसेवा आश्रमको लागि कुनैपनि प्रकारको विपत्ति, भव्यतव्य वा कठिन परिस्थितिमा प्रयोग गर्न मिल्नेगरी कम्तिमा २५ करोड रुपैया बराबरको अक्षयकोष स्थापना गर्न ।

३. देशको कुनैपनि स्थानमा अति कष्टपूर्ण जीवन विताइरहेको मानवहरु देखिए, भेटीए यथाशिघ्र उद्धार हुने परिपाटी निर्माण, परिवार भेटीएकाहरुको पारिवारिक पुनर्मिलन तथा औषधी उपचार प्रयोजनको लागि उद्धार बहान र एम्बुलेन्स व्यवस्थापन गर्न ।

४. जनजनमा मानवताको विजारोपण गरि घरपरिवार र आफन्तबाट परित्यक्त भई सडकमा पुगेका मानवहरुको यथार्थ अवस्था, उनीहरुप्रति हरेक नागरिकले गर्नुपर्ने मानवीय व्यवहार, सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माणको लागि आम जनमानसबाट गरिएको अपेक्षा र सडकआश्रित हुने अवस्थाको न्यनिकरणका लागि जनचेतना जगाउन ।

अतः माथि उल्लेखित सेवा सम्पन्न गर्न नेपथ्य ब्याण्डसँगको सहकार्य उपयुक्त र समयानूकुल हुने देखिएकोले यस मानवसेवा आश्रमको भवननिर्माण तथा अक्षयकोष स्थापनार्थ मानवताका लागि सांगीतिक यात्रा नेपथ्य लाइभ कन्सर्ट देशको दश शहरमा आयोजना गर्न लागिएको हो ।

Previous articleनेपालगञ्जका एक जनप्रतिनिधिको निधन, २० गते सम्पूर्ण सेवा बन्द रहने
Next articleकोहलपुरको हरियाली र सौन्दर्य प्रवर्द्धनका लागि नगरपालिका र समितीबीच सम्झौता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here