आपतकालीन पूर्व तयारी तथा प्रतिकार्य योजना मस्यौदामाथि छलफल

नेपालगञ्ज । आपतकालीन पूर्व तयारी तथा प्रतिकार्य योजना मस्यौदामाथिकाे छलफल कार्यक्रम नेपालगञ्जमा सम्पन्न भएको छ ।

विपत जोखिम न्यूनीकरणका लागि स्थानीय स्तरमा योजना बनाउने उद्देश्यका साथ सरोकारवालाबीच छलफल गरिएको हो । 

नेपालगञ्ज उपमहानगरपालिकाको आयोजना तथा युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारीमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा संचालित शहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना ‘सुपर प्राजेक्ट’ अन्तर्गत आपतकालीन पूर्व तयारी तथा प्रतिकार्य योजना मस्यौदा छलफल कार्यक्रम गरिएको हो । 

नेपालगञ्ज उपमहामनगरपालिकाका विभिन्न विषयतग समितिका प्रतिनिधि, महाशाखा एवम् शाखाका प्रतिनिधिको उपस्थितिमा आयोजित छलफल कार्यक्रममा अग्नी नियन्त्रणमा नेपालगञ्ज उपमहानगरपालिकाका कठिनाई र चुनौतीका विषयमा सुझाब समेत संकलन गरिएको छ । 

‘सुपर प्रोजेक्ट’का गेहेन्द्र बमले नेपालगञ्ज उपमहानगरपालिकाभित्र विपतको जोखिम, कारण, पूर्व तयारी र प्रतिकार्यका विषयमा प्रस्तुतिकरण गर्नुभएकाे थियाे । उहाँले नेपालगञ्ज भूकम्प, महामारी, आगलागी र डुबानको उच्च जोखिममा रहेको बताउनुभयाे ।

६.५ रेक्टर स्केलको भूकम्प आएमा नेपालगञ्जका ७० देखि ८० प्रतिशत घर बस्न नमिल्ने गरी भत्किने अवस्था देखिएको उहाँले बताउनुभयाे । विभिन्न ८ वटा क्लष्टरमा केन्द्रित रहेर योजना निर्माणको काम भइरहेको बमले जानकारी दिनुभयाे ।छलफलमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले विपत व्यवस्थापन स्थानीय सरकारको मुख्य काम भएको बताउँदै विपत कुरेर बस्ने भन्दा विपतको जोखिम न्यूनीकरण गर्ने उपायहरुबारे व्यापक अध्ययन अनुसन्धान गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभयाे ।

रिजालले विपत जोखिम न्यूनीकरण र व्यवस्थापन नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुख प्राथमिकताको विषय भएको स्पष्ट पार्नुभयाे । नेपाल रेडक्रस सोसाइटी बाँकेका सभापति गोबद्र्धनसिंह सम्झनाले दीर्घकालीनरुपमा समस्या समाधान गर्ने गरी योजना तर्जुमा गरेर कार्यान्वयनमा लैजानुपर्ने आवश्यकता औल्याउनुभयाे । 

इलेक्ट्रिसियन एसोसियसन बाँकेका अध्यक्ष दीपक खनालले नेपालगञ्ज आगलागीको उच्च जोखिममा रहेको बताउँदै यसतर्फ सम्बन्धित सबैको ध्यान जान जरुरी रहेको बताउनुभयाे । उनले सामग्रीको गुणस्तरमा ध्यान नदिँदा र अनुगमन संयन्त्र प्रभावकारी नहुँदा जोखिम बढेको बताउनुभयाे ।

आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले सहजीकरण गरेको छलफल कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष समिरप्रताप सिंह, कार्यपालिका सदस्य बसन्त कनौजिया लगायतले आआफ्नो धारणा राख्नुभयाे ।

कार्यक्रममा वडा नम्बर २१ का वडा अध्यक्ष राजकुमार साहु, शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापा, स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द, कानुन अधिकृत माया शर्मा लगायत उपस्थित थियाे ।

Previous article६५ लाख रूपैया बराबरको स्मेकसहित रूपैडिहाबाट नेपालगन्जका एक व्यक्ति पक्राउ
Next articleकोहलपुरको विकासका लागि सहकार्य र समन्वय गरेर अगाडि बढ्ने : सासंद केसी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here