पछिल्लाे वर्षयता जङ्गली हात्तीको आक्रमण बढ्दो

रासस । कञ्चनपुरमा पछिल्ला केही वर्षयता जङ्गली हात्तीको आक्रमण बढ्दो छ । बर्सेनि जङ्गली हात्तीको आक्रमणबाट मानिसको ज्यान जानुका साथै अन्नबाली र घरखेतमा समेत नोक्सानी पुग्ने गरेको छ ।

जङ्गल नजिकै मावन बस्ती भएकाले हरेक वर्ष हात्तीको आक्रमणबाट मानवीय क्षति हुने गरेको छ । मङ्गलबार साँझ बेदकोट नगरपालिकार-१ स्थित हात्तीथलाका हीरादेवी धानुकको हात्तीको आक्रमणमा परी मृत्यु भयो । घर नजिकैको साुमदायिक वनमा दाउरा लिन गएका बेला उहाँमाथि हात्तीले आक्रमण गरेको हो ।

गत भदौमा पनि शुक्लाफाँटा नगरपालिका-७ की २२ वर्षीया मीना जोशीको खेतमा काम गरिरहेका बेला हात्तीको आक्रमणबाट मृत्यु भएको थियो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको तथ्याङ्कानुसार जङ्गली हात्तीको आक्रमणबाट तीन वर्षको अवधिमा सात जनाले ज्यान गुमाएका छन् ।

निकुञ्ज कार्यालयका अनुसार विसं २०७७ मा दोधारा चाँदनी नगरपालिका-२ स्थित मायापुरी मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका दुई महिलाको हात्तीको आक्रमणबाट मृत्यु भयो । त्यसैगरी विसं २०७८ मा शुक्लफाँटा-१ बन्साहका एक पुरुष र एक महिलाको हात्तीको आक्रमणबाटै मृत्यु भयो । त्यसैगरी लालझाडी गाउँपालिका चान्देउका एक पुरुषको पनि हात्ती आक्रमणमा परी मृत्यु भयो ।

यस वर्षपनि कञ्चनपुरमा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भइसकेको छ भने एक घाइते भएका छन् । हात्तीको आक्रमणबाट मानिसमात्रै होइन, किसानको अन्नबाली र घरमा समेत क्षति हुने गरेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै भारतसँग जोडिएको दुधुवा नेशनल पार्कबाट आउने हात्तीले यहाँ क्षति गर्ने गरेको निकुञ्ज कार्यालयले जनाएको छ । 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले पछिल्लो १० वर्षयता कञ्चनपुरमा हात्तीको आक्रमण बढ्न थालेको बताउनुभयाे । उहाँले हात्तीको बासस्थान साँघुरिँदै गएको र हात्ती हिँड्ने बाटोमा बस्ती बनेपछि हात्तीको आक्रमण बढ्न थालेको बताउनुभयाे । “हात्ती हिँड्ने करिडोरमा बस्ती बसेको बासस्थान साँघुरिँदै गएको छ”, उहाँलेले भन्नुभयाे, “हात्ती एकै ठाउँमा बस्दैन घुमफिर गरिरहने भएकाले उसको हिँड्ने बाटोमा आक्रमण गर्ने गरेको छ ।”

उहाँले हात्ती एकै रातमा पाँच-सात किलोमिटरसम्म हिँड्ने गरेको बताउनुभयाे । “हाम्रो यहाँ वनजङ्गल कम छ, हात्ती भारतको दुधुवा राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जसम्म पुग्छन्, त्यो बीचमा धेरै बस्ती छन्”, उहाँले भन्नुभयाे, “मानिसले पनि सावधानी नअपनाउँदा क्षति हुने गरेको छ ।”

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मौसमीरूपमा ५०-६० को बथान भारतीय दुधुवा राष्ट्रिय निकुञ्जबाट आउने गरेका छन् । यी हात्तीको बथान कहिले नेपाल, कहिले भारततर्फ आउजाउ गरिरहेका हुन्छन् । “भारतबाट आएका हात्ती शुक्लाफाँटा हुँदै बर्दिया राष्ट्रिय निकुञ्जसम्म पुग्ने गरेका छन्”, उहाँले भन्नुभयाे, हात्तीले साँझ र बिहानको समयमा बढी आक्रमण गर्ने गर्छ ।” कञ्चनपुरमा मध्यवर्ती क्षेत्रमा शिविर धेरै छन् । विशेषगरी हात्ती हिँड्ने बाटोमा बस्ती विस्तार भएका कारण हात्तीले अन्नबाली र घरमा समेत क्षति पुर्याउने गरेको छ ।

Previous articleकोहलपुरको विकासका लागि सहकार्य र समन्वय गरेर अगाडि बढ्ने : सासंद केसी
Next articleभुरीगाउँमा सातौं बृहत रक्तदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here