
बाँके । संयुक्त बजार अनुगमन टोलीले मंगलबार नेपालगंञ्जमा रहेका डेरी उद्योगहरुको अनुगमन गरेको छ । अनुगमनका क्रममा अन्य स्थानमा व्यवसाय संचालनको अनुमति लिई उपमहानगरपालिकाको विभिन्न स्थानमा व्यवसाय संचालन गरिरहेका दुई वटा डेरी पसलको संचालनमा रोक लगाइएको छ ।
त्यस्तै एउटा डेरी उद्योगलाई दूध तथा दुधजन्य पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका–२०७५ बमोजिम मापदण्ड पूरा गरेर मात्र उत्पादन तथा बिक्रिबितरण गर्न निर्देशन दिएको छ ।
अनुगमनका क्रममा प्याकेजिंग नगरिएका दुध र दुग्धजन्य पदार्थको उत्पादन र बिक्री वितरण नगर्न व्यवसायीहरुलाई निर्देशन दिएको छ ।
मंगलबारको बजार अनुगमनमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुख कृष्ण प्रसाद पौड्याल, सूचना अधिकारी देवीलाल चौलागाईं, जिल्ला प्रशासन कार्यालयका, प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्मा, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका, निरिक्षण अधिकृत नेत्रा बोगटी, उपमहानगरपालिकाका अधिकृत विमल गुरुङ, अधिवक्ता एवं उपभोक्ता संरक्षण मन्च बाँकेका, अध्यक्ष बसन्त गौतमको सहभागीता रहेको थियो ।





