
बाँके । निरन्तरको बन्दाबन्दीका कारण जीवन निर्वाह गर्न गाह्रो भएपछि भारत जानेहरुको संख्या दैनिक बढिरहेको छ । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारले जारी गरेको बन्दीबन्दीको समय बढ्दै गएको र सो अवस्थामा काम गरेर जीवन निर्वाह गर्न गाह्रो भएपछि भारतमा काम गर्न जाने नेपालीहरुको संख्या दैनिक बढिरहेको पाइएको छ ।
नेपाल–भारतको सीमा नाका जमुनाहामा दैनिक संयौंको संख्यामा भारत जाने नेपालीहरुको भिड देख्न सकिन्छ । नेपालमा गुजारा गर्न समस्या भएकाले भारत जान लागेको उनीहरु बताउँछन् ।
इलाका प्रहरी कार्यालय जमुनाहाका अनुसार दैनिक संयौं बढि नेपालीहरु भारत जानका लागि नाकामा पुग्ने गरेका छन् । नाकामा पुग्ने नेपालीहरुलाई भने भारतीय आधारकार्ड वा परिचयपत्र भएको खण्डमा जान दिने गरेको चौकीले जनाएको छ ।
जमुनाहा चोकीका इन्चार्ज बिष्णु गिरीले धेरै नेपालीहरु भारत जाने भनेर आउने गरेको बताउनुभयो । नाकामा आउने नेपालीहरुलाई परिचयपत्रको आधारमा भारततर्फ जान दिने गरेको उहाँले जानकारी दिनुभयो ।

कोरोनाको महामारी छ, किन भारत जानुहुन्छ भनेर भन्दा नेपालमा काम छैन, रोगले भन्दा भोकले मर्ने अवस्था आउन लाग्यो भनेर काम गर्न भारत जान लागेको बताउँछन्, चौकी प्रमुख गिरीले भन्नुभयो ।
चौकीका अनुसार पछिल्लो केही दिनदेखि हालसम्म हजार बढि नेपालीहरु भारत फर्किएका छन् र दैनिक भारत जानका लागि नाकामा पुग्ने नेपालीहरुको कमी भएको छैन । अहिले भारत जाने नेपालीहरुले तिनै हुन्, जतिबेला कोरोना महामारीको शुरुवाती चरणमा भारतभर बन्दाबन्दी हुँदा समस्या भयो भन्दै आफ्नै देश फर्किएका थिए ।
कोरोना भाइरसको जोखिम भएपनि घरमा बसेर भोक मेट्न नसकिने भन्दै कामको खोजीमा प्रदेश–५ को बाँके, बर्दिया, दांङ र कर्णाली प्रदेशको सुर्खेत, सल्यान लगायत पहाडी जिल्लाका नेपालीहरु भारत फर्किन बाध्य छन् ।
सरकारले बन्दाबन्दीका समयमा समस्यामा परेकाहरुको दैनिकलाई सहज बनाउन बैकल्पिक उपाय तय गर्न नसक्दा धेरै नेपालीहरुको दैनिकी कष्टकर बनेको छ ।






