
दाङ । दाङमा प्रहरीको हिरासतमा रहेका श्रीमानलाई लागुऔषध लिएर भेट्न पुगेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
हिरासतमा रहेका घोराही-१५ का २२ वर्षीय अशोक खड्कालाई भेट्न जानुभएकी उहाँकी श्रीमती शान्ति घर्ती खड्का १२० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ पर्नुभएको हो ।
जिल्ला प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमका अनुसार हिरासतमा रहेका खड्का तीन दिनअघिमात्र लागुऔषधसहित पक्राउ परेका थिए ।
सोमबार बिहान ७ बजे हिरासतमा रहेका श्रीमानलाई भेट्न भन्दै शान्ती जिल्ला प्रहरी कार्यालय पुग्नुभएको थियो । फलफूल लिएर श्रीमानलाई भेट्न जानुभएकी घर्तिलाई चेकजाँच गर्दा ब्राउनसुगर फेला परेको हो । ‘हिरासतमा श्रीमानलाई भेट्न गएको बेला चेकजाँच गर्दा केराभित्र लुकाएको अवस्थामा लागुऔषध भेटियो,’ प्रहरी नायव उपरीक्षक गौतमले भन्नुभयो ।
गौतमका अनुसार घर्ति लागुऔषध दुर्व्यसनी रहेका आफ्ना श्रीमानलाई हिरासतभित्र लागुऔषध दिने उद्देश्यले पुग्नुभएको थियो । प्रहरीले उनलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ । घर्तिमाथि लागुऔषधसम्बन्धी मुद्दा दर्ता गरी आवश्यक कारबाही अघि बढाउने तयारी भइरहेको गौतमले बताउनुभयो ।





