जग खन्दा तोपका गोला भेटियो

नेपालगञ्ज । पाल्पामा नेपाली सेनाले भवन निर्माणका लागि जग खन्दै गर्दा पुराना तोपका गोला फेला परेका छन् ।

पाल्पाको सदरमुकाम तानसेन नगरपालिका वडा नं ४ सिल्खान टोलको गोलाखानामा नेपाली सेनाको दि फेशम महिन्द्र दल गणले भवन निर्माणको लागि जग खनिरहेको थियो ।

जग खन्ने क्रममा मंगलबार जमिनमुनि गाडिएको अवस्थामा धेरै वर्ष पुराना तोपका गोला फेला परेका हुन् । जेसिभीले जग खनिरहँदा गोलाहरू भेटिएकोबारे नेपाली सेनाले मुख्यालयमा जानकारी गराएको छ ।

ठूलो संख्यामा गोलाहरू निकालेर बाहिर निकालिएको छ भने अझै पनि जमिनमुनि ठूलो संख्यामा गोलाहरू रहेका छन् । जग खनिएको स्थानमा जमिनमा माथिल्लो सतहमै गोलाहरू देखिएका छन् ।

सिल्खान टोलमा नेपाली सेनाले अतिथि गृह निर्माणको लागि जग खनिरहेको थियो । गाडिएको अवस्थामा माटोका घैंटाजस्तै भेटिएका गोलाहरू कतिपय हातमा अट्ने आकारका छन् भने कतिपय ठूलो आकारका समेत रहेका छन् ।

भिमसेन थापाको पालादेखि नै नेपाली सेनाले पाल्पाबाट इस्ट इण्डिया कम्पनीको अंग्रेज सेनासँग युद्ध लड्दै आएको थियो । कर्णेल उजिर सिंह थापाको कमाण्डमा भएको दुई पटकको युद्धमा नेपाली सेनाले अंग्रेज सेनालाई पराजित गरेको थियो ।

अहिले जमिनमुनि भेटिएका तोपका गोलाहरू सोही समयका हुन् वा अन्य समयका हुन् भन्ने विषयमा अझै यकिन हुन नसकेको नेपाली सेनाले जनाएको छ । पाल्पास्थित नेपाली सेनाले तोप गोला भेटिएको विषयमा मुख्यालयमा जानकारी गराई आफ्नो निगरानीमा सुरक्षित राखेको छ ।

Previous article‘आहा ! रारा पोखरा’ गोल्डकप पुष १४ देखि, बिजेताले १२ लाख पाउने
Next articleअभिभावकबिहिन बालबालिकाका लागि खजुरामा आवासीय भवनको शिलान्यास

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here