
नेपालगञ्ज । नेपालगञ्जको ल्याण्डफिल साइटमा कार्यरत सरसफाईकर्मीहरुलाई व्यक्तिगत सुरक्षा सामग्री सेट (पिपिई सेट) वितरण गरिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकासंगको समन्वयमा भेरी वातावरणीय विशिष्टता समूह (बी-ग्रुप) ले बुधबार वडा नम्बर २३ हिरमिनियास्थित ल्याण्डफिल साइटमै पुगेर ४० जना सरसफाईकर्मीहरुलाई पिपिई सेट वितरण गरेको हो ।
नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, बी-ग्रुपका अध्यक्ष टेकबहादुर पुन, नेपालगञ्ज उपमहानगरपालिकाका प्रबक्ता प्रमोद रिजाल, वातावरण तथा विपत समितिका संयोजक समिरप्रताप सिंह, वडा नम्बर २३ का वडा अध्यक्ष जब्बर अलि बेहना र वातावरण इन्जिनियर प्रकाश डिसीले सरसफाईकर्मीलाई पिपिई वितरण गर्नुभएको हो ।
जर्मन सहयोग, जिआइजेड र एमडिएम फ्रान्सको सहयोगमा बी-ग्रुपले पिपिई सेट वितरण गरेको हो । त्यसक्रममा बोल्दै नगर प्रमुख विष्टले वितरित पिपिई सेटको सही सदुपयोगले जोखिमबाट बच्न सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रममा बी-ग्रुपका अध्यक्ष पुन, प्रबक्ता रिजाल, विपत समिति संयोजक सिंह, वडा नम्बर २३ का वडा अध्यक्ष बेहना, वातावरण इन्जिनियर डिसी, एमडिएम फ्रान्सका कार्यक्रम अधिकृत गणेश कार्कीले वितरित पिपिईले सरसफाईकर्मीलाई सुरक्षा प्रदान गर्दै जीवन रक्षाका लागि सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
पिपिई सेटमा गमबुट १ जोडी, एप्रोन १ पिस, ज्याकेट १ पिस, ट्राउजर १ पिस, तौलिया १ पिस, प्याकिंग झोला १ पिस, क्याप १ पिस, मास्क ३ डिब्बा, स्यानीटाइजर ६ बोतल, भिजिविलिटी ज्याकेट १ पिस, रबर पञ्जा २ जोडी, नाइट्राल पञ्जा २ जोडी, लुगा धुने साबुन ६ पिस र नुहाउने साबुन ६ पिस छन् ।





