खजुरामा अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रम शुरु

खजुरा । बाँकेको खजुरा गाउँपालिकामा अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रम शुरु भएको छ । ज्येष्ठ नागरिकहरूको समस्या बुझ्ने, सामाजिक सुरक्षा भत्ता घरदैलोमै वितरण गर्ने, ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण लगायत कामको लागि अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रम सुरु गरिएको हो ।

स्थानीय तहको निर्वाचन बि.स. २०७९ पछि निर्माण भएको स्थानीय सरकारले यस खजुरा गाँउपालिका अन्तर्गत रहेका ८ वटा वडाका सम्पुर्ण ६८ बर्ष पुगेका जेष्ठ नागरिक तथा पुर्ण रुपमा अशक्त व्यक्तिहरुलाई नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा आएर स्वास्थ्य सेवा लिन परेको अप्ठ्यारोलाई मध्यनजर गरेर मासिक एक पटक समन्धित व्यक्तिको घरमा नै गएर स्वास्थ्य परीक्षण गर्ने गरी जेष्ठ नागरिकसंग अध्यक्ष कार्यक्रम ल्याईएको छ ।

यस अन्तर्गत निःशुल्क स्वास्थ्य परीक्षण, रगत परीक्षण, आँखा, कानको परीक्षण गर्नुको साथै आवश्यक पर्ने औषधीको बितरण र चिनिरोग, उच्च रक्तचाप, दम जस्ता दिर्घरोगीहरुलाई मिल्ने औषधीलाई नियमित रुपमा दिईने व्यवस्था मिलाईएको छ ।

यसरी दिईएको सेवाको विवरणलाई अभिलेख राख्नको लागि बिरामी पुर्जा तथा रजिष्टरको व्यवस्था गरिएको खजुरा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दिपक ढकालले बताउनुभयो । यस सेवालाई प्रदान गर्न हाल ४ जना स्वास्थ्यकर्मीलाई खटाईएको छ ।

प्रत्येक स्वास्थ्यकर्मीलाई २ वडा पर्नेगरी खटाईएको छ । जेष्ठ नागरिकसंग अध्यक्ष कार्यक्रममा पार्वती सुनार वडा न ०१ र ०२, मनिषा थापा मगर वडा नं ०३ र ०४, करिष्मा रावत वडा नं ०५ र ०६, चन्दन भण्डारी वडा नं ०७ र ०८ मा खटिनुभएको छ ।

यसबाट खजुरा गाँउपालिकाको अनुमानित दुई हजार पाँच सय जनाले प्रत्यक्ष सेवा पाउने अपेक्षा लिईएको खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नृपराज उपाध्यायले जानकारी दिनुभयो ।

आफ्नो योग्यता, अनुभव, ज्ञान र सीपको प्रयोगद्वारा राज्यका निमित्त आफ्नो जीवनको महत्वपूर्ण उर्जा खर्च गरिरहेका ज्येष्ठ नागरिकहरुको जीवन सहज, सुरक्षित, सम्मानित एवं सुनिश्चित गर्दै समाजिक न्यायको प्रत्याभुति प्रदान गर्ने उद्देश्य यो कार्यक्रम लागु गरिएको र यो कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउने खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले बताउनुभयो ।

स्थानीय सरकारप्रति जनताको अपेक्षा र चाहनाको अभिवृद्धिसंगै जनताका आधारभूत आवश्यकता परिपूर्ति गर्नेतर्फ स्थानीय सरकारले विविध कार्यक्रम संचालन गरिरहेको छ । खजुरा गाउँपालिकाले जनताका समस्या, विकासका आवश्यकता, भोगिरहेका कठिनाईहरुलाई सहज, सरल र छिटो छरितो प्रभावकारीढंगले संचालन गर्नका लागि आफ्ना नीति
तथा कार्यक्रमलाई जनमुखी बनाउँदै लगेको छ ।

स्थानीय सरकार र जनतावीचको सम्बन्ध सुमधुर बनाउन जनतालाई स्थानीय सरकारप्रति विश्वास अभिबृद्धि गर्न तथा जनताको आशा र भरोसाको केन्द्रको रुपमा विकास गर्न, जनता र स्थानीय सरकारवीच आपसी समन्वय र सहकार्य वृद्धि गर्दै पारदर्शी प्रभावकारी र जनतालाई प्रत्यक्ष फाइदा पुग्ने योजना कार्यक्रम संचालन गर्दै आइरहेको छ ।

Previous articleमहामारीका समय उत्कृष्ट कार्य गर्ने चार जना अधिकृत सम्मानित
Next articleखजुराका सबै बिद्यालय तीन दिन बन्द

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here