
नेपालगञ्ज । जनता समाजवादी पार्टी, नेपालले ससर्त सरकारमा जाने निर्णय गरेको छ।
मंगलबार राजधानीमा बसेको राजनीतिक समितिको बैठकले आफ्ना एजेण्डाहरु कार्यान्वयन भएमा सरकारमा जाने निर्णय गरेको हो ।
बैठकले सरकारको न्यूनतम साझा कार्यक्रममा आफ्ना ऐजण्डाहरू समावेश गरेमा सरकारमा जाने सैद्धान्तिक निर्णय भएको कार्यकारिणी सदस्य प्रमोद साहले जानकारी दिनुभयो ।
सरकारमा जान शक्ति बाँडफाँटको विषयलाई केन्द्रमा राख्ने निर्णय भएको साहले बताउनुभयो । स्रोतका अनुसार जसपाले ३ मन्त्रालय र उपराष्ट्रपतिमा दाबी गरेको छ ।
त्यसैगरी बैठकले अन्य राजनीतिक दलहरुसँग पार्टी एकताका लागि वार्ता गर्न पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको छ । जसको सदस्यहरुमा रकम जेमजोङ र गोविन्द चौधरी रहेको प्रवक्ता मनिस सुमनले जानकारी दिनुभयो ।





