
नरैनापुर । माटो सुहाउँदो खेतीबालीका लागि नरैनापुर गाउँपालिकाले माटो परिक्षण शिविर सम्पन्न गरेको छ । गाँउपालिकाभित्रका विभिन्न ठाँउको माटोको अवस्था र उर्वराशक्तिका बारेमा जानकारी लिएर सोही अनुसारको बालीनाली लगाउने व्यवस्थाका लागि मंगलबार गाँउपालिकास्तरिय माटो परिक्षण शिविर आयोजना गरिएको कृषि शाखा प्रमुख सदन भण्डारीले जानकारी दिनुभयो ।
माटो तथा मल पक्षिण प्रयोगशाला खजुराको प्राविधिक सहयोग तथा गाँउपालिकाको आयोजनामा सम्पन्न भएको शिबिरमा करिब १ सय घरधुरिले माटो परिक्षण गराएका छन् । किसानको आवश्यकतालाई मध्यनजर गर्दै गाउँपालिकाले कृषि उत्पादनमा बृद्धि गर्न माटो परिक्षण शिविर संचालन गरेको जनाएको छ ।
शिविरमा नरैनापुरका वडा नं ४ देखि ६ सम्मका किसानहरुको सहभागिता रहेको थियो । शिविरमा फस्फोरस, पोटास, नाईट्रोजन र माटोको पि.एचको मात्रा जाँच गरिएको छ ।
शिविरले किसानलाई आफ्नो खेतमा रहेको माटोको सम्भावना पहिचान गरी कृषि उत्पादन बृद्धि गर्न राहत पुग्ने विश्वास गरिएको नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहको भनाई थियो । कुन माटो खाद्य तत्व छ कि छैन् यथार्थ रुपमा परिक्षण गरेर पत्ता लागाउनका लागि शिविरको आयोजना गरिएको थियो ।





