
काठमाण्डौं । सशस्त्र प्रहरी बल (एपिएफ) का ९७ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) को सरूवा भएको छ । एपिएफ प्रधान कार्यालय हलचोकले बिहीबार राति ९७ जना एसपीको सरूवा गरेको हो ।
अहिलेको सरूवा पूर्वानुमान सूचीअनुसार नै गरिएको एपिएफका प्रवक्ता एवं सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पुरूषोत्तम थापाले जानकारी दिनुभयो । गत कार्तिक १५ गते एपिएफको कर्मचारी प्रशासन शाखाले एसपीको सम्भावित सरूवा सूची प्रकाशन गरेको थियो । त्यसअनुसार नै अहिले एसपीको सरूवा भएको हो ।
सरूवामा एक पटक पनि कमान्डको जिम्मेवारी प्राप्त नगरेका एसपीलाई पहिलो प्राथमिकतका कार्यालयमा सरूवा गरिएको छ । रिजर्भ गण र तालिम शिक्षालयहरूमा कमाण्ड गरेका एसपीलाई दोस्रो प्राथमिकतामा राखेर सरूवा गरेको प्रधान कार्यालयले जनाएको छ । मुख्य गणमा कमान्ड गरेका एसपीलाई भने तेस्रो प्राथमिकतामा राखेर सरूवा गरिएको हो ।
सरूवा पूर्वानुमान सूचीका मुख्य उम्मेदवार रहेका तर विभिन्न स्वदेश तथा विदेशमा तालिमरत रहेका र संगठनको आवश्यकताले महत्वपूर्ण जिम्मेवारीमा खटाएका एसपीहरूलाई भने आगामी सूचीमा समावेश गरी खटाउने तयारी छ । ती एसपीको हाल सरूवा नगरिएको एपिएफले जनाएको छ ।






