
नेपालगञ्ज । लुम्बिनी प्रदेश सरकारकी मन्त्री कृष्णा केसी (नमूना) ले नौवस्ता औद्योगिक क्षेत्र निर्माणको लागि प्रदेश सरकारले भूमिका खेल्ने बताउनुभएको छ ।
संघीय सरकारले बजेट विनियोजन गरेपनि औद्योगिक क्षेत्रको काम अगाडि बढ्न नसकेको भन्दै उहाँले प्रदेश सरकारले निर्माणको काम अगाडि बढाउन भूमिका खेल्ने बताउनुभएको हो ।
‘अहिले नेपालगन्जमा औद्योगिक क्षेत्र रहेपनि नौवस्तामा ठूलो औद्योगिक क्षेत्र बन्दैछ’ मंगलबार नेपालगन्जमा महोत्सवको उद्घाटन गर्दै मन्त्री नमूनाले भन्नुभयो, ‘रोकिएका कामहरु अगाडि बढाउनको लागि प्रदेश सरकारले संघीय सरकारसँग पुल काम गर्छ ।’
नौवस्ता औद्योगिक क्षेत्रमा केही समस्याहरु हल भएपनि अन्य समस्याहरु समेत सरोकारवालाहरु बसेर हल गर्नुपर्नेमा उनले जोड दिनुभयो । त्यहाँ बसोबास गर्ने मानिसहरुको घरवास र रोजगारीको ग्यारेण्टी राज्यले गर्नुपर्ने उहाँको भनाई रहेको थियो ।
बाँकेको विकासका लागि आफुले खेल्नुपर्ने भूमिका खेल्न तयार रहेको मन्त्री नमुनाले बताउनुभयो । ‘समग्र बाँकेको विकासको लागि सबैजना आफ्नो स्थानबाट लाग्नुपर्छ’ उहाँले भन्नुभयो, ‘यसमा नीजि क्षेत्रको झनै महत्वपूर्ण भूमिका हुन्छ । म यहाँको विकासको लागि आफ्नो भूमिका निर्वाह गर्न तयार छु ।’
सो अवसरमा उहाँले ठूला उद्योगका साथै साना तथा घरेलु उद्योगहरुले समेत नेपालको आर्थिक विकास र समृद्धिमा महत्वपूर्ण भूमिका खेलिरहेको बताउनुभयो । साना तथा घरेलु उद्योगहरुको प्रबर्द्धन एवं विकास गर्नुपर्नेमा मन्त्री नमुनाले जोड दिनुभयो ।





