
शिवराज साहु
नेपालगञ्ज । नेपालगञ्जमा जारी महोत्सवमा दर्शकहरुका लागि थारु गाउँ मुख्य आकर्षणको केन्द्र बनेको छ । महोत्सवमा थारु गाउँ पहिलो पटक लागेको हो ।
महोत्सवमा थारु गाउँले दर्शकहरुको आकर्षण केन्द्र बन्न सफल भएको दर्शकहरुको भरिभराउ उपस्थितिले देखिएको छ । थारु गाउँमा शनिबार बिदाको दिन चर्चित कलाकारहरुको प्रस्तुतीमा दर्शकहरुले भरीभराउ थियो ।
यहि माघ १० गतेदेखि माघ २४ गतेसम्म चौथो प्रादेशिक औद्योगिक लघु घरेलु तथा कृषि, प्रविधि ब्यापार एवं पर्यटन महोत्सव २०७९ नेपालगंजमा प्रदर्शन भइरहेको छ । महोत्सवमा मुख्य आकर्षणको केन्द्र बन्दै “थारु गाउँ र थारु परिकार” जसको स्वाद लिन वरपरका स्टलहरुमा दर्शकहरुको भिड थामिनसक्नु देखिन्छ ।
महोत्सवको मुख्य कार्यक्रम स्थलको दक्षिणतिर रहेको थारु गाउँमा १३ वटा थारु गाउँका स्टलहरु राखिएको थारु गाउँ प्रदर्शनी संयोजक हेमन्त चौधरीले बताउनुभयो ।
१३ वटा स्टलमै थारु परिकारका स्वाद लिन ग्राहकको भरिभराउ रहने गर्छ । महोत्सवमा थारु गाउँ रहेको सुनेपछि बाँके कम्दी देखि महोत्सव हेर्न बाँकेको नेपालञ्ज आएको डुडुवा गाउँपालिका ५ सिधानियाका मोहन गुप्ताले बताउनुभयो ।
“थारु गाउँ र थारु परिकार” हेर्न वेग्लै आनन्द हुने भएको कारण मेलामा आएको उहाँको भनाई छ । थारु परिकारका स्वाद लिन चाडपर्व कुर्नुपर्ने हुन्छ । चाडपर्व पनि सकियो र महोत्सवमा थारु गाउँ सुनेपछि थारु परिकारको स्वाद लिन यहाँसम्म आएको गुप्ताले बताउनुभयो ।
संयोजक चौधरीका अनुसार प्रदर्शनीमा थारु परिकार घोगंघी, सिन्की, ढिकरी, गंगटा, मुसाको चटनी, लोकल भाले लगायतका स्थानीय परिकारहरु समेत रहेको छ । ‘थारु गाउँ अवलोकनको लागि ३० रुपैया शुल्क राखिएको छ । उहाँले भन्नुभयो, ‘भित्र प्रवेश गरिसकेपछि थारु सम्बन्धी मात्र स्टलहरु हेर्न सकिने छ ।
महोत्सवमा थारु परिकारको स्वाद लिन बर्दिया, बाँके, सुर्खेत, दाङ, कैलालीसम्मको ग्राहक आउने गरेको स्टल होटलका संचालकहरुले बताए । महोत्सवमा पिङ, मौतका कुवा, बच्चाहरुको लागि रेलगाडी लगायत विभिन्न मनोरञ्जनका साधनहरु समेत रहेका छन् ।





