
नेपालगञ्ज । नेपालगञ्जमा जारी महोत्सवमा चर्चित राष्ट्रिय कलाकार गायक रामजी खाडको ट्रेन्डिङ्गमा रहेका बिभिन्न गीतहरुमा दर्शकहरुले भरपुर मनोरञ्जन लिएका छन् ।
चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवमा गायक रामजी खाँडको व्यापक चर्चामा आएका गीतहरुमा रमाउँदै दर्शकले झुमेर मनोरञ्जन लिएका हुन ।
महोत्सवको सातौं दिन मंगलबार साँझ नेपालगञ्जको चिसो मौसमलाई रामजीको न्यानो प्रस्तुतीले माहोललाई ताताएको हो । पछिल्लो समय नेपाली संगीतमा निकै चर्चा कमाएको रामजीको प्रस्तुती हेर्नका लागि बाँके लगायत अन्य जिल्लाबाट महोत्सव परिसरमा पुगेका थिए ।
हजारौ दर्शककाबीच गायक रामजीले मनोरञ्जन दिदैँ दर्शकले आफ्ना गीतहरुलाई माया गरेर मन पराईदिएकोमा कृतज्ञता व्यक्त गर्दै आगामी दिनहरुमा पनि यस्तै साथ र सहयोग पाईरह्ने अपेक्षा नेपालगञ्जबाट लिएर फर्किनुभएको छ ।
उहाँको प्रस्तुती हेर्न युवा उमेरका मात्र नभई बृद्धहरुको पनि बाक्लो उपस्थिति देखिएको थियो । उहाँले आयोजक मार्फत आफ्ना केही फ्यानहरुलाई भोलिको लागि पास समेत प्रदान गर्नुभयो ।
उहाँले दर्शकलाई मनोरञ्जन गराउन आफ्ना गीत फुल फुलेरै पयालों भयो, छलछल पानी गाग्रीमा, एक एक जोडे दुई हुन्छ, जाम्ला नि लाहुर लगायतका चर्चित गीत प्रस्तुत गर्नुभएको थियो ।
नेपालगञ्ज १८ कारकाँदोस्थित सडक डिभिजन कार्यालयको परिसरमा माघ १० गतेदेखि सुरु महोत्सव अझै ९ दिनसम्म चल्नेछ ।





