नरैनापुरको मियापूर्वामा धार्मिक मेला शुरु, मन्त्री नमूना र गापा अध्यक्ष शाहद्धरा उदघाटन

नरैनापुर । बाँकेको नरैनापुरको मियापुर्वामा रहेको मुस्लिमहरुको प्रसिद्ध धार्मिक स्थल आस्तान ए हजरत खलीफा नूर अहमद शाहको मजार शरीफमा प्रत्येक वर्ष झै यसवर्ष पनि उर्श (धार्मिक मेला) शुरु भएको छ ।

प्रत्येक बर्ष माघ महिनामा मजार विकास समितिले प्रसिद्ध बाबा आस्तान ए हजरत खलीफा नूर अहमद शाहकोे उर्स धुमधामको साथ मनाउँदै आएको छ । माघ २० गतेदेखि शुरु भएको उर्समा नेपाल सहित छिमेकी मुलुक भारतका लाखौ धार्मिक श्रद्धालु ( जाईरीन) हरुको सहभागिता रहेको छ ।

त्यसैगरी, उर्सको अवसरमा रातिको समयमा जलसा (धार्मिक प्रवचन) हुँदै आएको छ भने भाकल गरेकाहरुले दैनिक रुपमा बाबाको मजारमा फतिहा, नियाज, तथा धार्मिक क्रियाकलाप गर्ने गरेका छन् ।

बाँकेको नेपालगंजदेखि करिव ४७ किलोमिटर पुर्वमा अवस्थित नरैनापुर गाँउपालिका–२ स्थित आस्तान ए हजरत खलीफा नूर अहमद शाहको मजार शरीफमा लागेको उर्से पाक औलया–ऐ केरामको पहिलो दिन शुक्रवार लुम्बिनी प्रदेशकि मन्त्री कृष्ण केसी नमूना र नरैनापुर गाँउपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले संयुक्त रुपमा बाबाको मजारमा चादर चढाउँदै उर्सको उदघाटन गर्नुभएको डा.वकार शाहले जानकारी दिनुभयो ।

मन्त्री नमूनाले माजार शरीफलाई धार्मिक स्थलको रुपमा विकास गर्नुपर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । मजारलाई व्यस्थित बनाएको खण्डमा बाँकेको पर्यटन विकासमा ठूलो टेवा पुग्ने बताउँदै मन्त्री नमूनाले मजार शरीफमा खानेपानी, शौचालय, तथा धर्मशलाको काम प्रदेश सरकारबाट गराउने उदघोष गर्नुभएको थियो ।

नरैनापुर गाँउपालिकाका अध्यक्ष एंव मेलाका संरक्षक इस्तियाक अहमद शाहले मजार शरीफ नेपालकै धार्मिक पर्यटकीय क्षेत्र मध्येका एक रहेको बताउँदै उहाँले मजार शरीफको विकास संघीय, प्रदेश र स्थानीय तीनै तहको सरकारले लगानी गर्नुपर्ने बताउनुभएको थियो ।

नरैनापुर १ का अध्यक्ष इसाक जोलाहले भन्नुभयो,‘ आस्तान ए हजरत खलीफा नूर अहमद शाह मजार बाँकेवासी वा प्रदेशवासीको मात्रै होईन । यो सम्पूर्ण नेपालवासीको गौरव हो । त्यसकारण यसको संरक्षण र प्रबद्र्धन गर्न सकेको खण्डमा मुलुकको आर्थिक तथा पर्यटन विकासमा ठूलो टेवा पुग्छ ।’

उर्समा सहभागी भएका मन्त्री नमूना, तथा राजनीतिकर्मीहरुलाई मजार विकास समितिका पदाधिकारीहरुले स्वागत गरेका थिए । उर्सलाई भव्य बनाउन नेपाल तथा भारतका प्रसिद्ध धार्मिक गुरुहरुलाई प्रवचनको लागि आमन्त्रण गरिएको मजार विकास समितिका संरक्षक रिजवान अहमद शाहले बताउनुभयो ।

उर्समा सहभागी भएका श्रद्धालुहरुको खानेपानी, आवास तथा स्वास्थ्य उपचारको लागि विभिन्न शिविरहरु सञ्चालन गरिएको समितिका सदस्य गुफरान अहमद शाहले बताउनुभयो । सुरक्षाको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र करिव दुई सय स्वयमसेवक परिचालन गरिएको रोज अलि जोलाहले जानकारी दिनुभयो ।

सांस्कृतिक, धार्मिक तथा सामाजिक सदभाव कायम राख्नका लागि यो उर्सको महत्वपूर्ण योगदान रहेको स्थानीयहरु बताउँछन् । मेला नरैनापुर २ का अध्यक्ष एंव मेलाका संरक्षक मसूद अहमद शाह लगायतको सहभागिता रहेको छ ।

Previous articleगायक प्रमोद डिजी र अन्नु चौधरीको ‘यी दिल’ सार्वजनिक
Next articleनेपालगञ्जमा टिकटक मिट हुँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here