
काठमाण्डौं । सरकारले कैलालीको गेटामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले गेटामा सरकारी लगानीमा निर्माण भएको संरचनामा स्वास्थ्य विज्ञान सम्बनन्धी विशिष्टिकृत विश्वविद्यालयको रुपमा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना तथा सञ्चालन गर्नु उपयुक्त हुने निर्णय गरेको छ ।
अब शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो विश्वविद्याल यसम्बन्धी विधेयक तर्जुमा गर्नेछ । उक्त विधेयक संसदबाट पारित भएपछि विश्वविद्यालय स्थापना हुनेछ ।
गेटा मेडिकल कलेज सञ्चालनका लागि पूर्वाधार निर्माण विकास समितिले २८ वटा संरचना बनाएको छ भने २३ वटा निर्माणाधीन छन् । निर्माणाधीनमध्ये १२ वटा संरचनाको काम आगामी असारमा सम्पन्न हुने पूर्वाधार विकास समितिले जनाएको छ । यी संरचना निर्माण गर्दा सरकारको ५ अर्ब ४० करोड रुपैयाँ खर्च भइसकेको छ ।
६०० शैय्याको अस्पताल र मेडिकल कलेज सञ्चालन गर्ने लक्ष्यसहित कैलालीको गेटामा निर्माण भएको संरचना दुई वर्षदेखि अलपत्र थिए । सरकारले गेटा मेडिकल कलेजमा शिक्षण अस्पताल सञ्चालनका लागि चालु आर्थिक वर्षमा ४५ करोड बजेट पठाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० असोज २०७९ मा राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा कार्यरत डा.प्रमोद जोशीलाई गेटा मेडिकल कलेजको अस्पताल निर्देशकका रुपमा खटाएको छ । यद्यपि हालसम्म अस्पताल पनि सञ्चालन भएको छैन ।





