
बाँके । बाँकेमा सञ्चालन भएको रेडियो स्कुल नमूना कक्षा शिक्षा प्रभावकारी बनिरहेको देखिएको छ । कार्यक्रममार्फत बिद्यार्थीहरु घरमै बसेर अध्ययन गरिरहेको पाइएको छ । बन्दाबन्दीका कारण रोकिएको नियमित शिक्षण कार्यलाई रेडियोमार्फत भइरहेको कक्षाले घरमै बसेर संचालन गर्न सहज बनाएको पाईएको सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।
कोरोना भाइरसको जोखिमका कारण शैक्षिक सत्र २०७६ को अन्त्यदेखि शैक्षिक सत्र २०७७ को भदौको अन्त्यसम्म पनि बिद्यालय खुल्न नसकेको अवस्थामा रेडियोमार्फत संचालन गरिएको नमुना कक्षा शिक्षा कार्यक्रमले रोकिएको पढाईलाई संचालनमा सहज बनाईरहेको स्वंय बिद्यार्थीहरुको अध्ययन कार्यबाट देखिएको छ । एक कक्षादेखि मा.वि सम्मका लागि संचालन गरिएको नमूना कक्षाले सबै तहका बिद्यार्थीलाई घरमै बसेर अध्ययन गर्न सहयोग पु¥याएको खजुरास्थित धौलागिरी बिद्यालयमा ८ कक्षामा अध्ययनरत राजेश चमारले बताउनुभयो । अध्ययनमा समस्या भएको अवस्थामा नजिकका शिक्षकहरुसंग सहयोग लिने गरेको बिद्यार्थी राजेशको भनाई छ ।
‘बिद्यालय जान नपाएपछि केही समय अध्ययन कार्य रोकिएको थियो,’ खजुरास्थित नेपाल राष्ट्रिय आधारभूत बिद्यालय ७ कक्षामा अध्ययनरत सिमरन चौधरीले भन्नुभयो, ‘तर रेडियो कार्यक्रम संचालन भएपछि घरमै बसेर अध्ययन कार्य अगाडी बढाउन सहयोग पुगेको छ ।’ रेडियोबाट कक्षा सञ्चालन भएपछि बिद्यार्थीहरु रेडियो सुनेरै पढिरहेका छन् । बिद्यालयको पढाई पहिलैकै जस्तो संचालन हुन नसकेपछि बैकल्पिक कक्षाका रुपमा संचालन गरिएको रेडियो कक्षा शिक्षा कार्यक्रमले बिद्यार्थीलाई अध्ययनमा सक्रिय बनाएको ज्ञानोदय माबि खजुराका प्रधानाध्यापक ऋषिराम सापकोटाले बताउनुभयो ।
लामो समयसम्म बन्द भएको बिद्यालय खुल्न नसकेको अवस्थामा बिद्यार्थीहरुको नियमित शिक्षण कार्य अवरुद्ध भएपछि संचालन गरिएको रेडियो कार्यक्रममार्फत बिद्यार्थीहरुलाई पढ्ने कार्यमा सहयोग पुगेको पाईएको प्रधानाध्यापक सापकोटाले जानकारी दिनुभयो । रेडियोबाट संचालन हुने कक्षामार्फत बिद्यार्थीहरुले पढ्ने गरे/नगरेको कुरा गाउँघरमा रहेका शिक्षकहरुबाट र बिद्यार्थीहरुबाट समेत प्रतिक्रिया आउन गरेको प्रधानाध्यापक सापकोटाको भनाई छ । ‘बिद्यालय बन्दको अवस्थामा बैकल्पिक कक्षाका रुपमा रेडियो कक्षा संचालन गरिएको छ,’ प्रधानाध्यापक सापकोटाले भन्नुभयो, ‘सबैको पहुँचमा रेडियो सहज छ, त्यसकारण यसले धेरै बिद्यार्थीहरुलाई अध्ययनमा सहयोग पु¥याइरहेको छ ।’
रेडियोबाट प्रशारण हुने कार्यक्रम सामाजिक संजाल फेसबुक पेजमार्फत समेत प्रशारण हुने गर्छ । जसले गर्दा सामाजिक संजालमा पहुँच हुने बिद्यार्थीलाई त्यही माध्यमबाट अध्ययनमा सहयोग पुगेको शिक्षा सम्बद्ध व्यक्तिहरु बताउँछन् । लकडाउनका कारण रेडियोमार्फत संचालन गरिएको कक्षा शिक्षा रहेको रहेको अभिभावकहरु बताउँछन् । बिद्यालयमा हुने कक्षागत अध्ययनलाई रेडियोमार्फत संचालन भएको छ, यसले बालबालिकाहरुलाई घरमै बसेर अध्ययन गर्न सहयोग भएको नेपालगञ्जका अभिभावक मनोज श्रीवास्तले बताउनुभयो ।
सामाजिक संजालमार्फत समेत प्रशारण हुने कार्यक्रमलाई रेकर्ड गर्न सकिने भएकाले बिद्यार्थीलाई अध्ययन गर्न सबैभन्दा सजिलो अहिले रेडियो साबित भएको छ । बिद्यालय बन्द भएको धेरै समय भएको अवस्थामा पढ्ने बानी हराउन थालेको बिद्यार्थीहरुमा रेडियोबाट कक्षा सञ्चालन हुँदा पढाईप्रति पुनः सक्रिय बनाएको बिज्ञान बिषयका रेडियो कक्षा शिक्षक यामनारायण महतोले बताउनुभयो । लकडाउन लम्बिदै गएपछि घरमै बसेका बिद्यार्थीलाई केन्द्रीत गरी गत बैशाख १४ गतेबाट शुरु भएको रेडियो कार्यक्रमले बिद्यार्थीहरुमा सहयोग पुगेको प्रतिक्रिया पाएको खजुरा गाउँपालिका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले बताउनुभयो ।
उहाँका अनुसार रेडियो कार्यक्रम बिद्यार्थीहरुमा उपयोगी देखिएकाले प्लान इन्टरनेशनल नेपाल, सामाजिक सचेतन सरोकार मंच (स्याक) बाँके, सेभ द चिल्ड्रेन, एस डि एफ, नेपालगञ्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका, बैजनाथ गाउँपालिका, जानकी गाउँपालिका, डुडुवा गाउँपालिका, नरैनापुर गाउँपालिका लगायका स्थानीय तह र गैर सरकारी संघ संस्था संगको समन्वय सहकार्यमा हालसम्म पनि कार्यक्रमलाई निरन्तरता दिइएको छ । ‘बर्तमान समयमा गाउँ–गाउँमा सबैको पहुँचमा हुने भनेकै रेडियो हो,’ शिक्षा शाखा प्रमुख मल्लले भन्नुभयो, ‘त्यसकारण धेरैले सहजरुपमा रुपमा रेडियोबाट संचालन हुने कक्षाबाट पनि बढिरहेका छन र पढ्न पनि सक्छन् ।’

शिक्षा शाखाले बिद्यार्थीहरुले घरमा पढे/नपढेको र अभिभावक भेटघाट कार्यलाई समेत शिक्षकहरुमार्फत जारी राखेकाले धेरैले रेडियोमार्फत अध्ययन गर्ने गरिरहेको पाइएको शिक्षा शाखा प्रमुख मल्लको भनाई छ । कोरोना भाइरसको प्रकोपका देखिएपछि गत चैत्र १० गतेबाट नेपालका सामुदायिक तथा नीजी बिद्यालयहरु संचालन हुन सकेका छैनन् । बिद्यालय बन्द भएपछि बिद्यार्थीहरु अध्ययन गर्न पाउने अवसरबाट बन्चित जस्तै भएका छन् । यद्दपि अध्ययनमा राम्रा रहेका बिद्यार्थीहरुले अन्य माध्यमबाट पनि पढिरहेका छन् । तर सबै बिद्यार्थीहरु अध्ययनका अन्य माध्यमहरु टेलिभिजन, सामाजिक संजाल, युट्युव, अनलाईन कक्षा जस्ता माध्यमबाट सजिलै पढ्न भने भएका छैन्न ।
बिद्यार्थीहरुको पढाई अबरुद्ध भएका कारण अध्ययन गर्ने क्रम नरोकियोस भनेर शुरु गरिएको रेडियो स्कुल नमूना कक्षा शिक्षा कार्यक्रम प्रभावकारी रहेको जानकी गाउँपालिकाका शिक्षा शाखा प्रमख भोलाराम पंगालीले बताउनुभयो । रेडियोमार्फत कक्षा संचालनपछि राम्रो प्रतिक्रिया आइरहेको शिक्षा शाखा प्रमुख पंगालीलेको भनाई छ । ‘अझै पनि बिद्यालय कहिले खुल्ने भन्ने टुङ्गो छैन,’ पंगालीले भन्नुभयो, ‘त्यसकारण रेडियो स्कुल शिक्षा कार्यक्रम आवश्यक छ ।’
बिद्यालय बन्द भएकाले घरमा भएका धेरैजसो बालबालिका पढिरहेको अवस्था छ । पढिरहेका र अध्ययनमा समस्या आउने बालबालिकाले रेडियो सुनेको खण्डमा उनीहरुलाई मदत पुगेको बाँकेका शिक्षा विकास तथा समन्वय एकाई प्रमुख राम सुरेस यादवले बताउनुभयो । ‘रेडियो सुन्नेलाई कार्यक्रमले अध्ययनमा सहजता प्रदान गरेको छ, त्यसकारण सन्तोष राख्ने ठाउँ छ,’ समन्वय एकाई प्रमुख यादवले भन्नुभयो, ‘घरमै पढनका साथै अभ्यास गर्न पनि बिद्यार्थीलाई सजिलो भएको छ ।’
बाँकेमा २०७६ को तथ्याँक अनुसार सामुदायिक तथा नीजि बिद्यालयका गरी करिब एक लाख पचास हजार बिद्यार्थीहरु अहिले बिद्यालय जान पाएका छैनन् । सरकारले लकडाउन अन्त्य भएपछि मात्रै संचालन गर्ने जनाएको छ । तर यस प्रकारको रेडियो जस्तै अन्य मात्रध्यमबाट घरमा रहदा पनि पढ्ने, लेख्ने कुरालाई निरन्तरता भने दिन सकिन्छ ।

कार्यक्रम प्रशारणको सयम र स्टेशन
नेपालगञ्जस्थित रेडियो कृष्णसार एफ एमबाट नमूना कक्षा कार्यक्रम संचालन भईरहेको छ । आईतबारदेखि बिहीबार नमूना कक्षामा प्रबिदेखि माबि तहसम्म बिषयका कक्षा संचालन हुन्छ । साँझ ३ बजेदेखि ६ बजेसम्म माबि तहका बिभिन्नि बिषय शिक्षकहरुले कक्षा लिने गरेका हुन् । कक्षा संचालनका लागि प्रत्येक सम्बन्धित बिषयका शिक्षकहरुको उपस्थित हुने गरेको छ । आइबार नेपाली, सोमबार अंग्रेजी, मंगलबार अनिवार्य बिज्ञान, बुधबार अनिवार्य गणित र बिहीबार अनिवार्य सामाजिक बिषयमा ४ कक्षादेखि १० कक्षासम्मका कक्षा संचालन भएको छ ।
कार्यक्रम संचालनका लागि सक्रिय स्थानीय तह र संघ, संस्था
बन्दाबन्दी अथवा अहिलेको महामारीका कारण सृजित संक्रमणकालीन अवस्थामा १ कक्षादेखि १० सम्मका बालबालिकाहरूले रेडियो स्कुल कार्यक्रम मार्फत् सुरक्षित रुपमा घरमै बसेर अध्ययन गर्न अवसर प्रदान गर्ने उद्देयले बाँकेमा नेपालगञ्ज उपमहानगरपालिका, खजुरा गाँउपालिका, बैजनाथ गाउँपालिका र जानकी गाँउपालिका, प्लान ईन्टरनेशनल, सामाजिक सचेतन सरोकार मञ्च, सेभ द चिल्ड्रेन र सामाजिक बिकास मञ्च आदि संघ संस्थाहरु मिलेर यो कार्यक्रम संचालनका लागि सक्रिय छन् । यी संंघस्थाहरुको आर्थिक र प्राविधिक सहयोगमा कार्यक्रम संचालन गरिएको स्याक नेपालका शिक्षा सिकाई कार्यक्रम अधिकृत लक्ष्मी प्रसाद शर्माले जानकारी दिनुभयो ।
शिक्षक र अभिभावकको भूमिका
बालबालिकाहरुको पहिलो शिक्षक भनेको अभिभावक हो । घरबाट नै निरन्तर सिकाई कार्यमा सहयोग पुगेको अवस्थामा बिद्यार्थीले बिद्यालयमा राम्रो नतिजा ल्याई बिबिध कुरामा सम्मान पाईरहेको बिभिन्न उदाहारणहरु पनि पाइन्छन । तर जबसम्म घरमा पनि बालबालिकाहरुलाई शान्त वातावरणमा बढ्नलाई सहयोग गर्न सक्दौनौं भने बालबालिकाहरुले बिद्यालयमा मात्र पढेर उत्कृष्ठ उपलब्धी प्राप्त गर्न सक्दैनन् । बर्तमान अवस्थामा बिद्यालय बन्द भएपनि कतिपय अभिभावकहले आफ्ना बालबालिकाहरुलाई घरमै पढ्नमा सहयोग पु¥याइरहेका छन् । अभिभावकहरुले खेल, घर–धन्दा, व्यवहार लगायतका माध्यमले आफ्ना बालबालिकाहरुलाई शिक्षा प्रदान गरिरहेको खजुरा गाउँपालिका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले बताउनुभयो ।
कतिपय बिद्यार्थी पनि बैकल्पिक कक्षाको माध्यमबाट अध्ययन कार्य गरिरहेको पाइएको छ, तर कतिका अभिभावकले थोरै ध्यान दिन नसक्दा बालबालिकाहरुले घरमै रहेर गर्न सक्ने शिक्षण गतिबिधिलाई संचालन गर्न लापरवाही गरिरहेको प्रमुख मल्लको भनाई छ । बिद्यालय कहिले खुल्ने र पहिल्यैकै सहज वातावरणमा बिद्यार्थीले अध्ययन गर्न पाउने समय अझै निश्चित हुन नसकेकाले सबै अभिभावकले थोरै मात्र समय निकालेर आफ्ना बालबालिकाहरुमा लगाउनुपर्ने प्रमुख मल्लको सुझाव छ ।
रेडियो पढाई कार्यलाई गुणस्तर बनाउन अझै गर्नुपर्ने कार्य
रेडियोमार्फत भइरहेको अध्ययन कार्यालाई सहज रुपमा सबै बिद्यार्थीलाई सहभागि गराउनका लागि अझै केही गर्नुपर्ने सरोकारवालाहरु बताउँछन् । मोबाईल नभएको घर अहिले कमै मात्र छन् तर पनि रेडियो र मोबाईल पनि नभएर अध्ययन कार्यमा सहभागि हुन नसेकाका बिद्यार्थीहरुलाई नजिकै रहने बिद्यार्थीहरु बसेर बढ्ने वातावरण निर्माण गर्नुपर्ने देखिएको प्लान इन्टरनेशनल नेपालका शिक्षा कार्यक्रम संयोजक संजिव जोशीले बताउनुभयो ।
बालबालिका घरमा रहने अवस्थामा किताबको अध्ययनलाई मात्रै नभएर घरमा रहेको बिभिन्न बस्तुहरुको प्रयोगबाट पनि अध्ययन सिकाईलाई प्रभावकारी बनाउन सकिने संयोजक जोशीको भनाई छ । त्यस्तै पढनुपर्छ भन्ने छ तर कसरी पढाउनुपर्छ भन्ने त सबैलाई जानकारी नहुन पनि सक्छ । त्यसकारण अभिभावकले आफ्ना बालबालिकाको पढाईको निरन्तरता नटुटोस भन्नका लागि यो कार्यक्रम संचालन गरिएको गाउँपालिका शिक्षा शाखा प्रमुख मल्लको भनाई छ । सरोकारवालाहरुले यो कार्यक्रमको निरन्तरता दिनुपर्नेमा पनि जोड दिन्छन् ।





