
नेपालगञ्ज । बाँके जिल्लाको नरैनापुर गाउँपालिका देशकै उत्कृष्ट बन्न सफल भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले यही फागुन ३ गते सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकनको नतिजा अनुसार नरैनापुर देशकै पहिलो पालिका बन्न सफल भएको हो ।
आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि, २०७८ को दफा ७ को अधीनमा रही प्रदेश तथा स्थानीय तहका लागि निर्धारण गरिएका कार्यसम्पादन सूचकका आधारमा गरेको मूल्यांकन अंक प्रदान गरिएको थियो । कार्यसम्पादन मूल्यांकनमा नरैनापुरले ७८ दशमलव ५१८६ अंक प्राप्त गरेको छ ।
दोस्रो बनेको प्यूठानको प्यूठान नगरपालिकाले ७७ दशमलव २६१४ अंक प्राप्त गरेको छ । तेस्रो भएको म्याग्दीको मंगला गाउँपालिकाले ७७ दशमलव ०९२६ अंक प्राप्त गरेको थियो । कार्यसम्पादनमा नरैनापुर गाउँपालिकालाई उत्कृष्ट भएको खबरले हर्षित बनाएको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो ।
‘दुई महिनादेखि बिरामी भएकाले मलाई यो खबर थाहा थिएन । यहाँहरूको सूचनाबाट थाहा पाएँ,’ उहाँले भन्नुभयो, ‘जनप्रतिनिधि र कर्मचारीको कामप्रतिको यथेष्ट लगावले आज नरैनापुर देशकै उत्कृष्ट भएको हुन सक्छ ।’ लुम्बिनी प्रदेशको बाँकेमा पर्ने यो गाउँपालिका आर्थिक, सामाजिक, सांस्कृतिक र वातावरणीय हिसाबले अत्यन्तै जोखिम र सुक्खाग्रस्त मानिन्छ ।
मुस्लिम र हिन्दु बाहुल्यता रहेको गाउँपालिकामा गरिबी, अशिक्षा र परम्परागत कुसंस्कार पनि विद्यमान रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले जानकारी दिनुभयो ।
‘चालू आर्थिक वर्षमा त पानी नै नपरेर यस गाउँपालिकामा धान हुन सकेन,’ उहाँले भन्नुभयो, ‘जिल्लाको अन्य पालिकाहरूको हिसाबले नरैनापुर अभाव र संकटग्रस्त क्षेत्र हो ।’ प्राकृतिक विपत्ति खासगरी खडेरीले यहाँको कृषि उत्पादनमा समस्या आएको प्रमुख प्रशासकीय अधिकृत खरालले बताउनुभयो ।





