बाँकेमा चालु वर्षको हालसम्म संकटमा परेका ३० वटा वन्यजन्तुको उद्वार

नेपालगञ्ज । डिभिजन वन कार्यालय बाँकेले चालु आर्थिक वर्षको हालसम्म संकटमा परेका ३० वटा वन्यजन्तुको उद्वार गरेको छ । वन कार्यालय बाँकले चालु आर्थिक वर्षको दश महिनाभित्र संकटमा परेका ३० वटा वन्यजन्तुहरुको उद्वार गरेको हो ।

आर्थिक वर्ष २०७९/०८० को माघको मध्यसम्म घाइते भएका, टुहुरा, बाटो बिराई गाउँ बस्तीमा पुगेका तथा संकटमा परेका त्यस्ता ३० वटा वन्यजन्तुहरुको उद्वार गरिएको कार्यालयका योजना अधिकृत गणेश खड्काले जानकारी दिनुभयो ।

यसरी उद्वार गरिएको वन्यजन्तुहरुलाई सुरक्षित स्थानमा पुर्नस्थापना समेत गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार उद्वार गरिएकाहरुमा सबैभन्दा बढि सर्प प्रजाति रहेका छन् । वन कार्यालयका योजना अधिकृत खड्काका अनुसार २० वटा सर्पको उद्वार गरिएको छ ।

जसमा बिषालु सर्प समेत रहेका छन् । बिभिन्न स्थानहरुबाट उद्वार भएकाहरुमा १० वटा गोमन सर्प, २ वटा रसेल भाइपर, १ वटा करेत र १ वटा धामन सर्प छन् । यस्तै ६ वटा अजिङ्गरको उद्वार गरिएको पनि उहाँले बताउनुभयो । कार्यालयबाट खटिएको टोलीले जिल्लाका बिभिन्न स्थानबाट ६ वटा अजिङ्गरको उद्वार गरेको छ ।

यसपछि सबैभन्दा बढि गोहीको उद्वार भएको छ । यो अवधीसम्म ४ वटा गोहीको बिभिन्न स्थानबाट उद्वार गरिएको छ । उद्वार गरिएका ६ वटा अजिङ्गरमध्ये ३ वटा कम्दी वन क्षेत्र, २ वटा डुडुवाकै हजरत सामुदायिक वन र १ वटालाई बाँके राष्ट्रिय निकुञ्जमा पुर्नस्थापन गरिएको छ ।

वन कार्यालयका अनुसार बाँकेको बैजानाथ गाउँपालिकाको टिटिहिरिया, नेपालगञ्ज वडा नं १९ को बनिया गाउँ, खजुरा र डुडुवा गाउँपालिकाको कम्दीबाट ६ वटा गोहीको उद्वार गरिएको हो ।सकुसल उद्वार गरिएका ४ वटैमध्ये ३ वटालाई बाँकेको राप्ती नदीमा र १ वटा गोहीलाई बबई नदीमा पुर्नस्थापन गरिएको छ ।

यस्तै उद्वार गरिएको १ वटा चितुवाको बच्चाको मृत्यु भएको छ भने घाइते रहेको रातो अमासी बाँदरलाई ढकेरी वन क्षेत्रमा छाडिएको छ । अन्य वन्यजन्तुलाई बाँके बर्दियाका बिभिन्न सुरक्षित क्षेत्रमा छाडिएको वन कार्यालयका योजना अधिकृत खड्काले जानकारी दिनुभयो ।

कार्यालयले गत आर्थिक वर्ष २०७८/७९ मा पनि ३० वटा संकटमा परेका वन्यजन्तुहरुको उद्वार गरेको थियो ।

Previous articleकार्यसम्पादन मूल्यांकनमा बाँकेको नरैनापुर गाउँपालिका ‘उत्कृष्ट’
Next articleचोरी भएका मोटरसाईकल र साईकलसहित नेपालगञ्जबाट चार जना पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here