
नेपालगञ्ज । बाँकेमा बिभिन्न पार्टीमा संलग्न भएका साढे तीन सय जना राष्ट्रिय स्वराज पार्टीमा प्रवेश गरेका छन् ।
पार्टीले आइतबार नेपालगञ्जमा गरेको पार्टी प्रवेश तथा अन्तरक्रिया कार्यक्रमको अवसरमा बिभिन्न पार्टीमा रहेका साढे तीन सय जना आफ्नोमा प्रवेश गरेको पार्टीले दाबी गरेको हो ।
पार्टीका केन्द्रीय अध्यक्ष इरफान अहमद शेषले कार्यक्रमकै अवसरमा बिभिन्न पार्टीमा आस्था राखेका कार्यकताहरु स्वराजमा प्रवेश गरेको दाबी गर्नुभएको हो । कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय अध्यक्ष इरफान अहमद शेषले धर्मका नाममा राजनीति गर्नेहरुलाई पराजित गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो ।
‘पिछडिएको क्षेत्र, वर्ग, समुदायका लागि अझै धेरै कुराहरु सरकारले गर्नुपर्छ,’ अध्यक्ष शेषले भन्नुभयो, ‘हालसम्म जति जनालाई हामीले भोट दिएर पठायौं, उनीहरु कसैले पनि इमान्दारिता देखाएन्न । हेला, शोषण र दमन अब सहदैनौं ।’
शिक्षा, स्वास्थ्य लगायतका कुराहरुबाट हाम्रा समुदाय बन्चित रहेको भन्दै अध्यक्ष शेषले यी कुराहरुको पूर्ति तथा आउने सन्ततिले हालको अवस्था सामना गर्न नपरोस भन्नका लागि पनि जनता जाग्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा उपाध्यक्ष चन्द्रशेखर सुनार, केन्द्रीय सचिव राजा सिंह, केन्द्रीय सदस्य जोया शेष, पार्टीका संरक्षक रियाज अहमद शेष, जाबिर हलवाई, पार्टीको बाँके सभापति अब्दुल कादिर साई, उपसभापति ताहिर राई, जिल्ला सचिव चन्द्र कुमार गोडिया लगायतको उपस्थिति रहेको थियो ।
लामो समय बाँकेमा जनमतको बागडोर सम्हाल्नुभएका नेता शेषलाई जनमतले प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचनमा उम्मेदवार अर्कैलाई बनाएपछि शेषले छुट्टै पार्टीको घोषणा गरेका हुन ।
पार्टीले अर्कैलाई उम्मेदवार बनाएपछि शेष सो निर्वाचनमा स्वतन्त्र उम्मेदवार लड्नुभएको थियो । शेषले बिचार मिल्नेहरुको सहभागितामा गत माघ ११ गते पार्टीको घोषणा गर्नुभएको थियो । स्वराज पार्टीको बाँके, बर्दिया, कपिलबस्तु, दांग, रुपन्देही, नवलपरासी, महोत्तरी, बारा र सिरहा जिल्लामा संगठन निर्माण भएको जनाएको छ ।






