‘नेपालगञ्ज आर्थिक विकास रणनीति’ मस्यौदामाथि छलफल

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले ‘नेपालगञ्ज आर्थिक विकास रणनीति’ मस्यौदा तयार गरेको छ । एक बर्ष लगाएर तयार पारिएको ‘नेपालगञ्ज आर्थिक विकास रणनीति’ मस्यौदामाथि आज छलफल गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका र स्थानीय सरोकारवालाले जिआइजेड/एलपेडको सहजीकरणमा तयार गरेको मस्यौदामाथि आज अन्तिम छलफल गरिएको हो । विभिन्न ६ वटा उपक्षेत्रहरुसहित तयार गरिएको मस्यौदामाथि ६ वटा कार्य समूह गठन गरेर छलफल गरिएको छ ।

स्थानीय सरोकारवालाहरु सबै एकै ठाउँमा संगै बसेर साझा खाका बनाई योजनाबद्धरुपमा काम गर्ने उद्देश्यले आर्थिक विकास रणनीतिलाई अन्तिम रुप दिन लागिएको हो ।

व्यापार, खाद्य प्रशोधन, प्राविधिक र व्यवसायिक शिक्षा, पर्यटन, कृषि लगायतका ६ वटा आर्थिक उपक्षेत्रीय पहिचान गरेर मस्यौदा तयार गरिएको जिआइजेड/एलपेडका परामर्शदाता डा.तेजहरि घिमिरेले बताउनुभयाे ।त्यस्तै विकासका प्राथमिकतामा स्थानीय आर्थिक सुशासन र प्रणालीगत क्षमतालाई अभिबृद्धि गर्ने, स्थानीय बस्तु तथा सेवाहरुको उपभोग र प्रबद्र्धनलाई बढावा दिने, व्यापार विस्तार र डिजिटलाइजेशन लगायतका विषयलाई समेटिएको घिमिरेले बताउनुभयाे ।

यसको कार्यान्वयनको लागि नगर प्रमुखको संयोजकत्वमा एउटा संयन्त्र बनाउने प्रस्ताब गरिएको छ । नगर प्रमुखको संयोजकत्वमा बाणिज्य संघ, सहकारी संघ, स्थानीय गैरसरकारी संस्था महासंघ, साना तथा घरेलु उद्योग महासंघ लगायत सदस्य रहने र सचिवालयको रुपमा उपमहानगरपालिकाको आर्थिक मशाशाखाले काम गर्ने प्रस्ताव गरिएको घिमिरेले जानकारी दिनुभयाे ।

यस्तै नगर उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायत रहने गरी अनुगमन संयन्त्र बनाइनेछ । यो रणनीति वि.स.२०८० देखि २१०० सम्म २० बर्षका लागि लागि कार्यान्वयनमा ल्याउने गरी बनाइएको छ ।

वि.सं. २१०० सम्ममा प्रतिव्यक्ति घरपरिवार आय अमेरिकी डलर २२ हजारसम्म पुर्याउने आकांक्षासहित स्थानीय उत्पादनले ३५ प्रतिशतसम्म आयात प्रतिस्थापन गर्ने लक्ष्य लिइएको आर्थिक विकास रणनीति मस्यौदा तयार गरिएको छ ।

यस्तै हरित र सफा नगरका रुपमा विकास गर्ने लक्ष्य पनि छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले आर्थिक विकास रणनीतिले लगानी, उत्पादन र बजारीकरणका लागि उपयुक्त वातावरण बनाउन भूमिका खेल्ने बताउनुभयाे ।

यसबाट स्थानीय अर्थतन्त्रलाई बढावा दिने गरी उपयुक्त वातावरण बनाउन सहयोग पुग्ने भन्दै उनले स्थानीय साझेदारहरुलाई संगसंगै हिँडाउन पनि सहज हुने विश्वास व्यक्त गर्नुभयाे । रिजालले रणनीतिलाई कार्यान्वयनयोग्य र बोधगम्य बनाउने गरी मस्यौदामाथि छलफल गरिएको बताउनुभयाे ।

कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद एवम निवर्तमान नगर प्रमुख डा.धवलशमशेर राणाले उद्योग, पर्यटन, शिक्षा र स्वास्थ्य नेपालगञ्जको चार वटा पिलर भएको बताउँदै यी पिलरहरुको प्रबद्र्धन गर्नुपर्नेमा जोड दिनुभयाे ।

उहाँले नेपालगञ्ज उपमहानगरपालिका आफैं विकास गर्ने इन्जिन नभएर सहजीकरण गर्ने क्याटालिष्टको भूमिकामा रहने बताउनुभयाे । स्थानीय साझेदारहरुको सहयोग र सहकार्यमा मात्र रणनीतिक योजनाले मूर्तरुप लिने भन्दै उनले सबैको साझेदारीमा जोड दिनुभयाे ।

कार्यक्रमको अध्यक्षता गर्नुभएका नगर प्रमुख प्रशान्त विष्टले २० बर्षको लागि तयार पारिएको आर्थिक विकास रणनीति नेपालगञ्जको आर्थिक विकासका लागि कोशेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयाे ।

सबैको साझा सरोकार र दायित्वले मात्रै रणनीतिक योजनाहरु कार्यान्वयन गर्न सहज हुने भन्दै उहाँले स्थानीय अर्थतन्त्रलाई प्रबद्र्धन गर्दै आयात प्रतिस्थापनको महात्वाकांक्षी लक्ष्यसहित आर्थिक विकास रणनीति तयार पारिएको बताउनुभयाे ।

कार्यक्रममा परियोजनाका बारेमा जिआइजेड/एलपेडका रामचन्द्र लामिछाने, एजेण्डा र उद्देश्यहरुबारे क्रिश्चियन सून, भविष्यको कार्यदिशाबारे टिम लिडर दिप्ती खकुरेलले प्रस्तुतिकरण गर्नुभएकाे थियाे ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रिजालले स्वागत मन्तब्य व्यक्त गरेको कार्यक्रमको सहजीकरण महिला विकास अधिकृत मञ्जु पाण्डेले गर्नुभएकाे थियाे ।

Previous articleबाँके ट्राफिक प्रमुख शाह र वडा प्रहरी कार्यालय नेपालगन्ज प्रमुख सिंहकाे सरूवा
Next articleकर्णाली सरकारलाई दिएको समर्थन राप्रपाद्वारा फिर्ता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here