सिँचाइ विभागका सिडिईविरूद्ध तीन करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं । भ्रष्टाचार गरेको आरोपमा जलस्रोत तथा सिँचाइ विभागका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) सुरेशकुमार शर्माविरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शर्माविरूद्ध तीन करोड ६ लाख ५४ हजार ९३२ रुपैयाँ बिगो माग्दै बिहीबार अदालतमा मुद्दा दायर गरेको हो ।

उहाँले सार्वजनिक सेवामा रहँदा भ्रष्टाचार गरेर अकुत सम्पत्ति जोडेको अख्तियारको ठहर छ । शर्मा २०५२ साल माघ १८ गतेदेखि सरकारी सेवामा प्रवेश गर्नुभएको थियो । उहाँले आर्थिक वर्ष २०७६/७७ सम्ममा आर्जन गरेमध्ये सो बराबरको रकमको स्रोत नखुलेको अख्तियारको दाबी छ ।

उहाँले यो अवधिमा २ करोड ३५ लाख ३१ हजार ६७४ रुपैयाँ वैध आम्दानी गरेको देखिएको अख्तियारले जनाएको छ । यही अवधिमा उहाँले ५ करोड ४१ लाख ८६ हजार ६०६ रुपैयाँ खर्च तथा लगानी गरेको देखिएको छ ।

उहाँले गैरकानुनी सम्पत्ति आर्जन गरेर अमिल्दो र अस्वभाविक रूपमा आफ्नो हैसियतभन्दा बढी रकम आफू र श्रीमतीको नाममा जग्गा खरिद, घर निर्माण, विभिन्न बैंक तथा वित्तीय संस्था, कम्पनी र सेयर खरिदमा लगानी गरेको देखिएको अभियोग पत्रमा छ ।

अख्तियारले शर्माकी श्रीमती बबिता फुयाल शर्मालाई पनि विपक्षी बनाएर मुद्दा दायर गरेको छ । उहाँलाई गैरकानुनी सम्पत्ति जफतको प्रयोजनमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

Previous articleआर्मी अस्पतालका १८ सहित बाँकेका ३४ जनामा कोरोना पुष्टि
Next articleकोभिड-१९ बाट मृत्यु हुनेको संख्या ५ सय नाघ्यो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here