
भिम बहादुर सार्की
डुडुवा । समुदाय र सामुदायिक वन सम्बन्धि विवाद मिलाउन समुदायकै भूमिका महत्वपूर्ण रहने एक कार्यक्रमका बिच सहभागीहरुले बताएका छन् ।
माकुरा समुह डुडुवाको आयोजना, प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्र बाँकेको सहयोग र डुडुवा गाउँपालिका वडा नं ४ र ५ को समन्वयमा डुडुवाको मिलन चोकमा बिहीबार प्रक्रिया प्रस्ताव पारितका लागि संयुक्त बैठकमा उपस्थित सहभागीहरुले सो कुरा बताएका हुन् ।
बैठकमा ७० जना भन्दा बढी व्यक्तिहरुको सहभागिता रहेको थियो । डुडुवा गाउँपालिका स्थित वभनपुर्वा सामुदायिक वन उपभोक्ता समिती तथा सो वन सँगै जोडिएका मिलनचोक बस्ती वरपरका केही घरधुरीहरुसँग सिमानाको विषयलाई लिएर केही समयदेखि विवाद हुँदै आइरहेको छ ।
उक्त विवाद समाधानका लागि प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्र बाँकेले डुडुवा गाउँपालिका वडा नं ४ र ५ स्थित वभनपूर्वा सामुदायिक वन अन्तर्गतका स्थानिय उपभोक्ताहरुको पहलमा ११ सदस्यीय माकुरा समुहको गठन गरि सहजीकरण गर्दै आएको छ ।
माकुरा समुहको अगुवाइमा स्थानिय उपभोक्ता, वन उपभोक्ता समिती तथा सरोकारवालासँग विभिन्न चरणमा छलफल गर्ने क्रममा आज (बिहीबार) आठौँ चरणको बैठक आयोजना गरिएको हो ।
बैठकको उद्देश्यमाथि प्रकाश पार्दै सहजकर्ता रसीद खाँले प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्रले सामुदायिक मेलमिलाप तथा रुपान्तरणीय प्रक्रियामार्फत जल, जमिन र जंगल सम्बन्धि बहुसरोकारवाला सवालमा काम गर्दै आएको र डुडुवामा पनि सोही सवालहरुलाई मध्यनजर गरि समदाय र सामुदायिक वन बिचको विवादलाई साम्य पार्न संस्थाले समुह गठन गरि काम गरिरहेको बताउनुभयो ।
कार्यक्रम बोल्दै उपभोक्ता बिष्णुमाया न्यौपानेले मिलन चोकमा २०५२ सालदेखि नै बस्ती रहेको र त्यस्को केही समयपछि मात्रै सामुदायिक वनको अवधारणा आएको हुँदा वन र बस्तीको सिमानालाई लिएर वभनपुर्वा वनसमितीले बस्तीका घरधुरीहरुसँग विवाद गर्नुको कुनै तुक नरहेको बताउनुभयो ।
त्यस्तै, नेपाल हेल्पलाइन फाउण्डेसन बाँके र स्थानिय अगुवा मुस्लिम खाँले आफु २०५० सालदेखि नै मिलनचोकमा बस्दै आएको र बस्ती विस्तार हुने क्रममा कुनैपनि घरधुरीले वनको भूभाग नओगटेको कुरा बताउनुभयो ।
त्यसैगरि, स्थानिय वन महासंघ डुडुवाका अध्यक्ष बेल बहादुर बोहराले वनजंगल छेउछाउमा रहेका तथा अव्यवस्थित बस्तीलाई व्यवस्थापनका लागि सरकारका सबै तहमा एजेण्डाहरु प्रस्तुत हुनेभएतापनि त्यस्को प्रभावकारी कार्यान्वयन हुन नसकेको गुनासो पोख्नुभयो ।
कार्यक्रममा आफ्नो भनाइ राख्ने क्रममा नेपाल शिक्षक संघ बाँकेका सचिव तथा स्थानिय शिक्षक चन्द्र बहादुर एरीले सबै पिडीत पक्षहरुले आ-आफ्नो सवालहरु छलफलमा राख्नुपर्ने र ति सवालहरुलाई सम्बोधन गर्न एउटा कार्यदल गठन गरि अगाडि बढ्नुपर्ने कुरामा जोड दिनुभयो ।
मन्त्वयकै क्रममा नेपालगंज सब-डिभिजन वन कार्यालय राँझाका प्रमुख नारायण पार्धेले माकुरा समुह तथा सहयोगी संस्थाले मेलमिलापको नितीबाट काम गरिरहेको कुरालाई मुक्तकण्ठले प्रशंसा गर्नुभयो ।
उहाँले अगाडि थप्नुभयो, “वनजंगल छेउछाउ रहेका बस्ती र सामुदायिक वन सँग सम्बन्धित विवादहरु थुप्रै छन् र यदि समुदायकै प्रयासले यहाँहरुको विवाद समाधान भएको खण्डमा यो एउटा नमूनायोग्य कार्य हुनेछ र हामीलाई पनि अरु समुदायमा यसै प्रक्रिया मार्फत जान हौसला मिल्नेछ ।”,
बैठकमा डुडुवा गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिती संयोजक साहिदा बानो, माकुरा समुहका संयोजक मोती बुढाथोकी, डुडुवा गाउँपालिका वडा नं.५ का अध्यक्ष झंक बहादुर थापा र वभनपुर्वा सामुदायिक वनका उपाध्यक्ष इरफान खाँले समेत आफ्नो भनाइहरु राख्नुभएको थियो ।





