
नेपालगञ्ज । राष्ट्रिय झण्डा दिवस वैशाख १ गते नेपालगन्जको रामलिला मैदानमा भब्यताका साथ मनाईने भएको छ ।
नेपालगन्जमा गैरसरकारी संस्थाहरुको आज बसेको समन्वय बैठकले नयाँ वर्षको पहिलो दिन नेपालगन्जको रामलिला मैदानमा दिवसलाई भब्यताका साथ मनाउने निर्णय गरेको हो ।
राष्ट्र र राष्ट्रियताको प्रतिकको रुपमा रहेको झण्डाले सबैलाई एक शुत्रमा बाध्ने गरेको कुरालाई महशुस गर्दै गैर सरकारी संस्थाहरुको अगुवाईमा नेपालगन्जबाट पहिलो पटक मनाउन थालिएको झण्डा दिवस लोकप्रिय बन्दै आएको छ ।
अन्तराल र बास नेपालको समन्वयमा गैरसरकारी संस्था महासँघ बाँकेमा भएको गैसस समन्वय बैठकमा सहभागिहरुले दिवसलाई भब्यताका साथ मनाउने गरी आ आफ्नो तहबाट लाग्ने प्रतिबद्धता गरेका छन् ।
बैठकमा झण्डा दिवसको परिकल्पना तथा कार्यतालिकाका बारेमा अन्तरालका प्रमुख कार्यकारी तथा झण्डा दिवसका परिकल्पनाकार जयनारायण शाहले जानकारी गराउनुभएको थियो ।
उहाँले अन्तरालले पहिलो पटक झण्डा दिवस मनाउने कार्यको शुरुवात गरेको भन्दै चौथो बर्षदेखि बास नेपाल को सहकार्यमा मनाउन थालिएको बताउनुभयो । उहाँले यस बर्षको झण्डा दिवसलाई भब्य रुपमा सम्पन्न गर्न सबैलाई आग्रह गर्नुभयो ।
समन्वय बैठकमा बासका केन्द्रीय उपाध्यक्ष शिब कुमार बर्मा, गैसस महासँघ बाँकेका सदस्य तथा बासका निर्वतमान अध्यक्ष रमेश सिटौला, समाज सुधार नेपालका तारा प्रसाद खत्री, गणेश प्रसाद भट्राई, बिग्रुपका अध्यक्ष टेक बहादुर पुन मगर, बासका निर्देशक हेमराज भट्ट, फातिमा फाउण्डेसनकी राधा केवट, मानवता नेपालकी सुमन गिरी श्रेष्ठ, थारु महिला बिकास केन्द्रकी ललिता थारु, एकता शिक्षा समाज कल्याण संघका सकिल अहमद राई लगायतले झण्डा दिवसलाई भब्यताका साथ मनाउन पूर्ण रुपमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुुभएको छ ।
गैसस महासँघ बाँके शाखाका कार्यवाहक अध्यक्ष निर्मला सुनारको अध्यक्षतामा बसेको बैठकमा कार्यक्रमलाई बासका पूर्ब अध्यक्ष मन भण्डारीले सहजिकरण गर्नुभएको थियो । अन्तरालले २०७३ साल बैशाख १ गते देखि झण्डा दिवस बनाउन शुरु गरेको हो ।
पहिलो बर्ष राष्ट्र गानका रचयिता व्याकुल माईलाको प्रमुख उपस्थितीमा दिवस नेपालगञ्ज रंगशालामा सम्पन्न भएको थियो भने दोश्रो बर्ष २०७४ बैशाख १ गते चन्द्र शुर्य अभियानका अभियन्ता, कलाकार, बिमान चालक बिजय लामा र नेपाल पत्रकार महासँघका पूर्ब केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाको प्रमुख आतिथ्यतामा नेपालगञ्जको रामलिला मैदानमा सम्पन्न भएको थियो भने तेस्रो बर्ष जनप्रतिनिधि, सिने क्षेत्रका कलाकारहरुको उपस्थितीमा नेपालगञ्जको रामलिला मैदानमै दिवस सम्पन्न भएको थियो ।
तेस्रो बर्ष काठमाण्डौंको माईती घर मण्डलामा साहित्यकार, संस्कृतिबिद् सत्यमोहन जोशीको उपस्थितीमा दिवस सम्पन्न भएको थियो भने पोखरा लगायतका स्थानहरुमा पनि दिवस बनाईएको थियो ।
चौथो बर्ष अन्तरालले नेपालगञ्जमा बाससँगको साझेदारीमा राष्ट्रिय झण्डा दिवस नेपालगञ्जको बीपी चौकमा मनाएको थियो । बासले झण्डा दिवसमा सहकार्य गरेसँगै सोही बर्षदेखि बासका देशभरका ७७ औटै जिल्ला शाखाले झण्डा दिवसलाई बैशाख १ गते साँझ कार्यक्रमको रुपमा मनाउन थालेका छन् ।





