
नेपालगन्ज । शनिबार बाँकेको नेपालगन्जमा लाइन्स क्लब अफ नेपालगन्ज युनिटीले निःशुल्क स्वास्थ्य परीक्षण शिविरको आयोजना गरेको छ ।
नेपालन्ज युनिटीले नेपालगन्ज उप-महानगरपालिकाको वडा नम्बर २० मा निःशुल्क चेकजाँचसहित औषधि वितरण गरेको लाइन्स क्लब अफ नेपालगन्ज युनिटीकी अध्यक्ष विन्दु चर्तीमगरले जानकारी दिनुभयो ।
शिविरमा गाइने, बालबालिका, नाक, कान, घाटी तथा जनरल चेकजाँच भएको अध्यक्ष चर्तीमगरले बताउनुभयाे ।
शिविरमा नाक, कान घाटी विशेषज्ञ डा. अन्शु शर्मा, गाइने विशेषज्ञ डा. पुनम आचार्य, फिजिसियन डा. शंकर केसी र बालरोग विशेषज्ञ डा. समिर माहासय लगायत ११ जना स्वास्थ्यकर्मीको टोलीले चेकजाँच गरेको थियो ।
नेपालगन्ज युनिटीले आयोजना गरेको शिविरमा ३ सय ७५ जनाले सेवा लिएका छन् । जसमध्ये ३ जनामा स्वास्थ्य समस्या देखिएकाले लाइन्स क्लबको सहकार्यमा उनीहरुलाई अस्पतालमा रिफर गरिने अध्यक्ष चर्तीमगरले बताउनुभयाे ।
शिविरमा बालबालिकाको सहभागी धेरै रहेको र महिलाहरुमा पाठेघर सम्बन्धी समस्या धेरै देखिएको चर्तीमगरले बताउनुभयाे । मगरले वडा नम्बर २० फेरि अर्को चरण पनि स्वास्थ्य शिविर नेपालगन्ज कमिटीले छिट्टै संचालन गर्ने बताउनुभयाे ।





