
बाँके । राप्ती सोनारी र नरैनापुर गाउँपालिकाका ठूला विकास निर्माणका योजना कार्यान्वयनका लागि पहल थालिएको छ । स्थानीय र प्रदेश सरकारको बजेटबाट अगाडि बढ्न नसक्ने योजनाका लागि संघीय सरकारसँग बजेटको माग गरिएको हो ।
सोही क्षेत्रबाट निर्वाचित प्रदेश सांसद कृष्णा केसी (नमुना) ठूला योजनाका लागि बजेट माग्दै संघीय सरकारका विभिन्न मन्त्रालय धाइरहनुभएको छ । परिसकेका योजना कार्यान्वयन र नपरेकालाई आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्नको लागि उहाँ संघका विभिन्न मन्त्रालय धाइरहनुभएको छ ।
तीन दिन काठमाडौंमा बसेर राप्ती सोनारी र नरैनापुरको विकास निर्माणको विषयमा विभिन्न मन्त्री र सचिव ज्यूसँग छलफल गरिसकेको सांसद नमुनाले जानकारी दिनुभयो ।
‘स्थानीय र प्रदेश सरकारको बजेटबाट हुन नसक्ने मेरो निर्वाचन क्षेत्रका योजनाहरु बोकेर काठमाडौं पुगेकी हुँ’ उहाँले भन्नुभयो, ‘पछिल्लोपटक तीन दिन बसेर मन्त्री ज्यूसँग योजना कार्यान्वयन र नयाँ बजेटमा समावेश गर्नुपर्ने योजनाका बारेमा छलफल भएको छ ।’
सांसद नमुनाले उर्जा, जलस्रोत एवं सिचाई मन्त्री शक्ति बहादुर बस्नेत भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र गृह मन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल गरिसक्नुभएको छ ।
उर्जा, जलस्रोत एवं सिचाई मन्त्री बस्नेतसँग राप्ती नदीमा तटबन्ध, राप्ती सोनारी र नरैनापुरमा बाँकी रहेका क्षेत्रमा विद्युतीकरण लगायतका विषयमा छलफल भएको उहाँले जानकारी दिनुभयो ।
‘आउँदो वर्षायाम अघि नै राप्ती नदीका ९ स्थानमा तटबन्ध गर्नुपर्ने छ । नत्र फेरी नदीमा आउने बाढी गाउँमा पस्ने सम्भावना धेरै छ’ सांसद नमुनाले भनिन्, ‘ती स्थानमा तटबन्धको लागि तत्कालै बजेट छुट्याउन मन्त्री ज्यूलाई आग्रह गरेकी छु । उहाँ सकारात्मक हुनुहुन्छ ।’ भारत सरकारको १० अर्ब ४४ करोड ८० लाख रुपैयाँ अनुदान सहयोगमा राप्ती नदीमा बन्ने पक्की तटबन्धको प्रक्रिया समेत छिटो थाल्न अनुरोध गरेको सांसद नमुनाले बताउनुभयो ।
‘भारतको सहयोगमा राप्ती नदीमा ४१ किमि पक्की तटबन्ध निर्माण हुँदैछ’ उहाँले भन्नुभयो, ‘भारत सरकार यो योजनामा सहमत भइसकेको समेत छ । मैले मन्त्री ज्यूलाई यसको लागि थप प्रक्रिया समेत अगाडि बढाउन अनुरोध गरेको छु ।’
उहाँले राप्ती सोनारी–४ को विकट खयरभट्टी क्षेत्रमा विद्युतीकरण र अन्य क्षेत्रमा विद्युतीकरणको लागि पोल उपलब्ध गराउन छलफल समेत गर्नुभएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री ज्वालासँग राप्ती नदीका तीन स्थानमा पक्की पुल निर्माण, हुलाकी राजमार्गको स्तरउन्नती, नरैनापुर–अगैया जोड्ने सडक निर्माण लगायतका विषयमा छलफल भएको सांसद नमुनाले जानकारी दिनुभयो ।
‘राप्ती नदीमाथि कुसुम, सिधनियाघाट र होलिया छिटाईपुर्वामा पक्की पुलको लागि कुरा भएको छ’ उहाँले भन्नुभयो, ‘सिधनियाघाटमा निर्माणका लागि ठेक्का सम्झौता समेत भइसकेको छ । त्यहाँ कसरी छिटो काम अगाडी बढाउने भन्ने विषयमा छलफल भयो ।’
राप्ती नदीमाथि अन्य दुई स्थान र वडा नम्बर २ कचनापुरमा पक्की पुल निर्माणको लागि आगामी बजेटमा योजना समावेश गर्ने विषयमा कुराकानी भएको उहाँले बताउनुभयो ।
‘अहिले योजनामा नपरेका पुललाई आउँदो आर्थिक वर्षको बजेटमा हालिदिने मन्त्रीज्यूले प्रतिबद्धता जनाउनुभएको छ’ सांसद नमुनाले भन्नुभयो, ‘फेरी सरकारको बजेट आउनुभन्दा अघि काठमाडौंमा गएर भन्नुपर्ला ।’
नरैनापुरदेखि अगैया जोड्ने छोटो दुरीको सडक निर्माणको लागि आवश्यकता अनुसार नै बजेट विनियोजन गरिने मन्त्री ज्वालाले प्रतिबद्धता जनाएको उहाँले बताउनुभयो ।
‘हुलाकी राजमार्गको बाँकी खण्डको निर्माण समेत तत्काल अगाडि बढाउने विषयमा मन्त्री सकारात्मक हुनुहुन्छ’ उहाँले भन्नुभयो, ‘जंगलको समस्या हलको लागि तत्कालै प्रक्रिया अगाडि बढाइनेछ ।’
ईलाका प्रहरी कार्यालय भगवानपुरमा प्रहरी नायब उपरीक्षक (डीएसपी) र ईलाका प्रहरी कार्यालय धामपुरमा प्रहरी निरीक्षकको दरबन्दी राख्नको लागि गृह मन्त्री श्रेष्ठसँग माग गरिएको छ ।
‘राप्ती सोनारी र नरैनापुरमा रहेका प्रहरी युनिटहरुको समेत स्तरउन्नती र दरबन्दी थप्नको लागि गृहमन्त्री ज्यूसँग कुराकानी भएको छ’ सांसद नमुनाले भन्नुभयो, ‘सुरक्षाको दृष्टिकोणले समेत नरैनापुरमा डीएसपी र धामपुरमा प्रहरी निरीक्षकको दरबन्दी अब राख्नुपर्छ ।’





