
नेपालगञ्ज । बाँकेमा वडाध्यक्षद्धारा एक स्थानीय कुटिएका छन् । शनिबार नेपालगञ्ज उपमहानगरपालिका वडा नं-२३ का वडाध्यक्ष जबर अलि बेहेनाद्धारा जग्गा सम्बन्धि विषयमा कुरा नमिल्दा स्थानीय बेद प्रकाश सिंह कुटिनु भएको हो ।
जग्गा नापको विषयमा वडाध्यक्ष बेहेनाले सिमा मिच्न खोजेको थाहा पाएपछि बेद प्रकाशले त्यसको विरोध गर्न खोज्दा आफुमाथि लाठीचार्ज भएको उहाँले बताउनुभयो ।
बेद प्रकाशले भन्नुभयो, ‘जग्गालाई जुन ठाउँबाट नापिनु पथ्र्यो त्यो ठाउँबाट वडाध्यक्षले नाप्नु भएन । उहाँले सिमा मिचेर नाप्न खोज्दै हुनुहुन्थ्यो मैले त्यसको विरोध गरे ।
अनि उहाँले एक्कासी मलाई यो विषयमा बोल्ने अधिकार तँलाई कस्ले दियो ? भन्दै ममाथि लाठीचार्ज गर्नुभयो ।’ नेपाली कंग्रेसबाट चुनाव जितेर वडाको अध्यक्ष बनेका बेहेनाको कुटाईबाट बेदप्रकाशको शरीर भरी नै चोट लागेको छ ।
वडाध्यक्षबाट कुटिएका बेद प्रकाश उजुरी लेखाउन ईलाका प्रहरी कार्यालय हिरमिनीयामा जाँदा ईलाका ईन्चार्ज प्रहरी नायव निरीक्षक तोजेन्द्र वि.सीले समेत आफुहरुलाई दुव्र्यवहार गरेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘ईलाका प्रमुखले उजुरी लेख्न ढिला गरी रहनु भयो । यता मैले दुखाई सहन सकिरहेको थिएन । उहाँले वडाध्यक्षलाई ईलाका बोलाएर न सोधपुछ गर्नु भयो न त मेरो उजुरी नै लेख्नु भयो । उहाँले मलाई धेरै नै अपमानीत भाषाहरु प्रयोग गर्नु भयो ।’
इलाका ईन्चार्ज बि.सीले भने आफुमाथि लगाईएको सबै आरोपहरु झुटो भएको बताउनु भएको छ । पिडित र स्थानीयको भनाई अनुसार वडाध्यक्ष बेहेनाले जनभावना अनुसार काम गर्नुको साटो वडाबासीलाई डर र धम्किमा राख्दै काम गरेको बुझिएको छ ।





