
नेपालगञ्ज । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय युवा संघ नेकपा (एमाले)को बलियो खम्बा भएको बताउनुभएको छ ।
बाँकेको नेपालगञ्जमा आजदेखि सुरु भएको संघको नवौ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ओलीले नेकपा (एमाले) लाई सिध्याउने जालझेल र गठबन्धनलाई परास्त पार्दै सम्पूर्ण क्षेत्रमा पार्टीले सशक्त रुपमा प्रमुख हैसियत बनाउनुमा युवा संघको ठूलो भूमिका रहेको उल्लेख गर्नुभयो ।
“राष्ट्रिय युवा संघ नेकपा (एमाले)को बलियो खम्बा हो । यसले पार्टीलाई अफ्ठेरो परेको बेला नेपाली जनतालाई अफ्ठेरो परेको बेला जोश र जाँगरका साथ आफ्नो जिम्मेवारी पुरा गर्दै आएको छ”, अध्यक्ष ओलीले भन्नुभयो, “महाधिवेशनमा पदका लागि होईन काम र जिम्मेवारी निर्वाह गर्ने सोंचका साथ दुई वर्षसम्म रात दिन सक्रियताका साथ खट्नसक्ने क्षमता हुन जरुरी छ ।”
२०४७ सालमा संविधान जारी हुने वा नहुने आशंका रहेको बेला संविधान जारी गराउन र जनताको पक्षमा गराउन युवा संघले भूमिका खेलेको स्मरण गर्दै अध्यक्ष ओलीले अहिले पनि युवा संघले राज्य सत्ताको दुरुपयोग हुन नदिन, आम निर्वाचन स्वच्छ बनाउन र जनताको पक्षमा गराउन भूमिका खेलेको भन्दै प्रशंसा गर्नुभयो ।
विगतको गौरवमय इतिहासलाई अझ प्रभावकारी र सशक्त रुपमा अगाडि बढाउने जोश जांगर, क्षमता सिर्जनशिलता र पार्टीले सारेको नीति कार्यन्वयन गर्ने नेतृत्व महाधिवेशनले चयन गर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “युवालाई संगठित गर्ने, सहि बाटो देखाउने र असल मान्छे बनाउने काम युवा संघको हो । कार्यशैली र व्यवहार हेर्दावित्तिकै युवा संघको कार्यकर्ता भन्ने चिनिन सक्ने हुनुपर्छ, परिचय देखाएर युवा संघको चिनारी दिन आवश्यक छैन ।”
राष्ट्रिय युवा संघ नेपालमा कुनै पनि प्रकारको गुटबन्दी हुन नहुने कुरामा जोड दिदै अध्यक्ष ओलीले नेकपा (एमाले) गुटबन्दी लगायत सबैखाले जालझेल सहेर उठेको पार्टी भएकोले अव युवा संघमा कुनै पनि वाहनामा पक्ष विपक्षको कुरा नहुने उल्लेख गर्नुभयो ।
“युवा संघ जस्तो गतिशिल, सिर्जनशिल संस्था जात, क्षेत्र र भूगोलको आधारमा पक्ष विपक्ष र गुटवन्दी गरेको सुहाउदैन”, उहाँले भन्नुभयो, “सामाजिक सद्भाव, राष्ट्रिय एकतालाई आत्मसाथ गर्दै नयाँ जोश, उत्साह अठोट र खुल्ला मनका साथ अघि बढ्न जरुरी छ ।”
नेताले आशीर्वाद दिएर नेतृत्वमा पुग्ने कामले संगठन जुझारु नहुनेतर्फ इङ्गित गर्दै अध्यक्ष ओलीले आफू केन्द्रित नभई संगठन, युवा आन्दोलन र देशलाई केन्द्रमा राखेर अघि बढ्न युवालाई आग्रह गर्नुभयो ।
राजनीति सहि बाटोमा गरेमा देश बनाउन सकिने उल्लेख गर्दै पूर्व प्रधानमन्त्री ओलीले विगतमा आफु प्रधानमन्त्री हुँदा हुलाकी सडक, तुइन विस्थापन, नदी किनारमा करिडोर निर्माणको काम भएको बताउनुभयो ।





