देशभरका ५२ जिल्लामा पुग्यो डेंगुको संक्रमण

नेपालगञ्ज । देशभरका ५२ जिल्लामा डेंगुको संक्रमण फैलिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार देशभरका ५२ जिल्लामा संक्रमण पैलिएको हो ।

१५ पुसदेखि हालसम्म ५२ जिल्लामा डेंगु संक्रमित फेला परिसकेका छन् । जनवरी १ देखि अहिलेसम्मको तथ्याँक हेर्दा ५०१ जना डेंगु संक्रमित देखिइसकेका छन् ।

जाडो र त्यसपछिका साढे तीन महिनामा करिब पाँच सय मानिसमा डेंगु संक्रमण हुनुले अबको महिनामा संक्रमणको जोखिम बढ्ने आंकलन गरिएको छ ।

अघिल्ला बर्षको पुस यता तथ्यांक हेर्दा ७० जना हाराहारीमा मात्रै संक्रमित देखिएका थिए । जबकि, सो संख्या बढेर अहिले ५ सय नाघिसकेको छ ।

गत वर्ष असारदेखि फैलिएको डेंगुको संक्रमण यस वर्ष भने बर्खा नलाग्दै सुरू भइसकेको छ । महाशाखाका किटजन्य रोग विशेषज्ञ डा.गोकर्ण दाहालका अनुसार यो वर्ष हिउँदमा समेत केस शून्यमा झरेन ।

संक्रमण देखिनेमा काठमाडौं उपत्यकासहित दार्चुला, म्याग्दी, लगायतका ५२ जिल्लाका ११२ पालिका छन् । महाशाखाको तथ्यांक अनुसार सन् २०२२ मा ५४ हजार ७८४ जनामा संक्रमण देखिएको थियो । तीमध्ये ८८ जनाको मृत्यु भयो ।

संक्रमित र मृत्युको यो संख्या नेपालमा डेंगु संक्रमण शुरु भएको सन् २००४ यताकै धेरै हो । तर, समुदायस्तरमा फैलिएको संक्रमणको गणना गर्ने हो भने गत वर्ष झन्डै दुई लाख जनसंख्या संक्रमित भएको विज्ञहरूको आंकलन छ ।

संक्रमित लामखुट्टेले पार्ने अण्डा पनि संक्रमित नै हुन्छन् । त्यसको अण्डाबाट लार्भा, प्युपा हुँदै लामखुट्टे भएर सिधै डेंगु भाइरस सार्न सक्छ ।

लामखुट्टेले पारेको अण्डा पानी पर्ने समय नआएसम्म सुरक्षित रहने भएकाले १० महिनासम्म जम्मा भएर बसेको अण्डा पानी पर्ने बित्तिकै हुर्कन थाल्छन् ।

तर, विगतका बर्षझैं यो बर्ष पनि डेंगु महामारीको जोखिम नै रहेको महाशाखाका अधिकारी स्वीकार गर्छन् ।

यस वर्ष जाडो महिनामा समेत संक्रमण शून्यमा नझरेको डेंगुले गत बर्षजस्तै प्रकोपको रूप लिने स्वास्थ्य क्षेत्रका अधिकारीहरुको चिन्ता छ ।

Previous articleबाँकेमा भिटामिन ए र जुकाको औषधी खुवाउने कार्यक्रम स्थगित
Next articleठुलाे मात्राकाे सुनका गहनासहित नेपालगन्जबाट दुई जना पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here