
नेपालगञ्ज । गृह मन्त्रालयसँग संघ, संस्था दर्ता सम्बन्धि सूचना माग गरिएको छ ।
सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ बमोजिम नेपालगञ्ज १२ निवासी नमस्कार शाहले संघ, संस्था दर्ता सम्वन्धी सूचना माग गर्नुभएको हो ।
नागरिकहरु संगठित हुन पाउने, संघ, संस्था खोल्न पाउने हक संबैधानिक हक हो, नेपालको संबिधान, संस्था दर्ता ऐन २०३४, नियमावली २०३४ बमोजिम गैर सरकारी संस्थाहरु नेपालका ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुमा दर्ता हुन्छन् ।
दर्ता गर्दा ऐन, नियमावलीमा भएको व्यवस्था बिपरित अनिवार्य रुपमा जिल्ला प्रशासन कार्यालयद्वारा प्रहरी प्रतिबेदन माग गर्ने गरिएको छ । यसरी माग गरिने प्रहरी प्रतिबेदन कुन ऐन, नियमावलीमा टेकेर मागिन्छ, सो को जानकारी शाहले माग गर्नुभएको हो ।
उहाँले प्रहरी प्रतिबेदन माग गर्ने सम्वन्धि निर्णय, पत्राचार भएको भए सो को प्रतिलिपि समेत माग गर्नुभएको छ ।





