
गुलरिया । बर्दियाको ठाकुरबाबा नगरपालिका नेपालकै पहिलो पूर्ण हात धुने पालिका घोषणा गरिएको छ । बिहीबार एक औपचारिक कार्यक्रमको आयोजना गरि नेपालकै पहिलो पालिकाको रुपमा घोषणा गरिएको हो ।
पूर्ण सरसफाइयुक्त पालिकाको अभियान, आ-आफ्नै पहलमा हात धुने स्थान भन्ने नारासहित नगरपालिकाभित्रका सबै वडाका गाउँटोलका घरघरमा टुटीसहितको बाल्टी र साबुन राख्न लगाई यसअघि पूर्ण हात धुने वडा घोषणा गरिएको थियो ।
घोषणा समारोहमा लुम्बिनी प्रदेश सभा सदस्यद्वय जन्मजय तिमिल्सिना र कृष्णा कुष्मा थारु, जिल्ला समन्वय समिति बर्दियाका प्रमुख सूर्यबहादुर विष्ट, नगरपालिकाका मेयर तिलकराम लम्साल लगायतको सहभागिता रहेको थियो ।
गेरुवा ग्रामीण जागरण सङ्घ बर्दिया र तेर दे जोम्ससँगको सहकार्यमा ठाकुरबाबामा झण्डै नौ महिनाअघि देखि पूर्ण हात धुने अभियान सञ्चालन भइरहेकोमा अनुगमनका क्रममा पालिकाभित्रका ११ हजार एक सय १५ घरधुरीमा सतप्रतिशत हात धुने ठाउँ निर्माण गरिएको छ ।
पूर्ण हात धुने अभियानलाई सफल बनाउन पालिकाभित्रका जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, बडघर, विद्यार्थी, शिक्षक र स्थानीय सामुदायिक अभियानकर्ताहरू खटिएका थिए ।





