
नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिका वडा नं-२ स्थित श्री शुक्र माबि र र योगिनी माबिका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरिएको छ ।
खजुरा गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको समन्वय सहकार्यमा सामाजिक सचेतन सरोकार मञ्च (स्याक) नेपालमार्फत सो बिद्यालयका बिद्यार्थीहरुलाई बुधबार एक समारोहकाबीच शैक्षिक सामाग्री बितरण गरिएको हो ।
प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा खजुरामा संचालित सिकाई परियोजनामार्फत बिद्यालय तथा समग्र पालिकाको शैक्षिक गुणस्तर बृद्धिका लागि बिभिन्न गतिबिधि संचालन गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै स्याक नेपालका अध्यक्ष शिवलाल पाण्डेले आवश्यकता भएकाहरुलाई सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । साथै उहाँले स्याकले संचालन गरेको परियोजनाले बिद्यालयको शैक्षिक गुणस्तर बृद्धिमा आवश्यक सहयोग पुगेको आशा व्यक्त गर्नुभयो ।
शुक्र माबिका आठ र योगिनी माबिका तीन जना गरी बिद्यालय प्रवेश गरेका ११ जना नयाँ बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग गरिएको स्याकका सुपरभाईजर रज्जब अलि बागवानले जानकारी दिनुभयो ।
कक्षा १, २ र ३ कक्षाका बिद्यार्थीहरुलाई बिद्यालयको पहुँचमा ल्याउने प्रयास रहेको स्याकले जनाएको छ । यसैबीच खजुरा गाउँपालिकाको वडा नं-१ र २ मा बिद्यालय उमेरका एक जना पनि बिद्यालय बाहिर नरहेको वडाका रुपमा घोषणा गरिएको छ ।
बिद्यालय जाने उमेरका कक्षा १ देखि ३ सम्मका बाहिर रहेका बालबालिकाहरुलाई बिद्यालयको पहुँचमा ल्याइएपछि बुधबार एक समारोहकाबीच बिद्यालय बाहिर नरहेको वडाका रुपमा वडालाई घोषणा गरिएको हो ।
वडा नं-१ लाई मंगलबार घोषणा गरिएको छ भने वडा नं-२ लाई कार्यावाहक वडा अध्यक्ष मिना कुमारी सुनार, खजुरा गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खगेन्द्र बहादुर मल्ल, स्याक नेपालका अध्यक्ष शिवलाल पाण्डे, सदस्य कृष्ण गिरी, शुक्र र योगिनी माबि बिद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ लगायतको उपस्थितिमा बुधबार घोषणा गरिएको हो ।





