प्रचण्ड गर्मी छल्न बाँकेका साहित्यकारहरुको दैलेखसम्म साहित्यिक यात्रा

नेपालगन्ज । नेपालगन्जको प्रचण्ड गर्मीबाट केही दिनको लागि छल्नकै लागि बाँके जिल्लाका साहित्यकारहरुले कर्णाली प्रदेशको पहाडी जिल्ला दैलेखका साहित्यिक यात्रामा छन् ।

विश्व नेपाली साहित्य महासंघ नेपाल शाखाद्वारा आयोजित साहित्यिक यात्राको क्रममा साहित्यकारहरुले साहित्यिक कार्यक्रमको पनि आयोजना गरेका छन् । नेपालकै सर्वाधिक गर्मी हुने नेपालगन्जमा विगत एक सातादेखि ४५ डिग्री सेल्सियससम्म तापक्रम पुगेर जनजीवन प्रभावित भएको अवस्था छ ।

साहित्यिक यात्राको क्रममा विश्वभर छरिएका नेपाली साहित्यकारहरुको छाता संगठन विश्व नेपाली साहित्य महासंघ नेपाल शाखा (विनेसाम) ले कर्णाली प्रदेश शाखा गठन गरेको छ ।

विनेसाम नेपाल शाखाकी अध्यक्ष कल्पना पौडेल “जिज्ञासु”को अध्यक्षता तथा दुल्लु नगरपालिकाका प्रमुख भरत प्रसाद रिजालको प्रमुख आतिथ्यमा साहित्यिक कार्यक्रम सहित ११ सदस्यीय विनेसाम कर्णाली प्रदेश शाखा गठन गरिएको विनेसाम नेपाल शाखाका सल्लाहकार ऋषिराम सापकोटाले जानकारी दिनुभयो ।

सो अवसरमा विनेसाम नेपाल शाखाका सल्लाहकार ऋषिराम सापकोटाले विश्व नेपाली साहित्य महासंघ नेपाल शाखा (विनेसाम)को परिचय, श्रष्टाहरुको भ्रमणको उद्देश्य, कर्णाली प्रदेश शाखा गठनको औचित्य माथि प्रकाश पार्नु भएको थियो । सापकोटा ज्ञानोदय उच्च माध्यमिक विद्यालय, खजुराका प्राचार्य हुनुहुन्छ ।

विनेसाम लुम्बिनी प्रदेशका सल्लाहकार तथा प्रज्ञा प्रतिष्ठान खजुराका उपकुलपति डा. इन्द्र बहादुर भण्डारी “इन्द्रणी” ले नेपाली भाषा साहित्यको विकासमा साहित्यिक संघ संथाहरुको महत्वपूर्ण भूमिका रहने र स्थानीय तहमा प्रज्ञा प्रतिष्ठान गठन गरेर दुल्लुको भाषा साहित्य र यहाँको ऐतिहासिक र साँस्कृतिक सम्पदाको संरक्षण गर्न सकिने धारणा राख्नु भयो ।

नगर प्रमुख रिजालले विनेसाम कर्णाली प्रदेश शाखालाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो र साहित्यकार तथा स्रष्टाहरुले दैलेख दुल्लुको ऐतिहासिक भाषा संस्कृतलाई आफ्ना लेख, रचना र सिर्जनाहरुमा समेट्न आग्रह गर्नुभयो ।

विनेसाम लुम्बिनी प्रदेशका अध्यक्ष तथा भेरी साहित्य समाजका केन्द्रीय महासचिव लेक प्रसाद प्याकुरेलले सञ्चालन गरेको र साहित्यकार चन्द्र रावत गुराँसले स्वागत मन्तव्य राख्नु भएको उक्त कार्यक्रममा बाँकेबाट साहित्यिक यात्रामा जानुभएका साहित्यकारहरु कल्पना पौडेल “जिज्ञासु”, डा. इन्द्र “इन्द्रेणी”, ऋषिराम सापकोटा, भेरी साहित्य समाज, बाँकेका अध्यक्ष वोधराज प्याकुरेल, रुद्रहरि ज्ञवाली, मन्दिरा निरौला, सविता ज्ञवालीलाई दुल्लु नगरपालिकाका नगर प्रमुख रिजालले मायाँको चिनो प्रदान गर्नु भएको थियो ।

विनेसाम नेपाल शाखाकी अध्यक्ष पौडेल “जिज्ञासु” ले नवगठित समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै साहित्यकारहरुलाई न्यानो आतिथ्यता प्रदान गरी साहित्यिक कार्यक्रमलाई समय प्रदान गर्नु भएकोमा मेयर उपमेयर, वडा अध्यक्षहरु र दैलेखी साहित्यकारहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

विशिष्ट अतिथि उपमेयर वीना कार्कीको उपस्थिति रहेको उक्त कार्यक्रममा साहित्यकार चन्द्र रावत गुँरासको अध्यक्षता गठन गरिएको विनेसाम कर्णाली शाखामा भूपेन्द्र प्रसाद उपाध्याय, नारायण प्रसाद रिजाल, मनु कुमारी पौडेल, उदयराज उपाध्याय, हिरा कुमारी खड्का, भिम कुमारी खड्का, कोपिला शर्मा, हिक्मत शाही, गिरि प्रसाद बुढा, जीवन शाही रहनु भएको छ ।

Previous articleठाकुरबाबामा विद्यालयको सुधार योजना अद्यावधिक गर्न कार्ययोजनासहित कार्यशाला
Next article२० औं विश्व रक्तदाता दिवस, उत्कृष्ठ रक्तदातालाई सम्मान गर्दै वृहत रक्तदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here