राप्ती नदीको बाढीमा फसेका ५ जनाको उद्वार

फाईल तस्बिर

नेपालगञ्ज । बाँकेस्थित राप्ती नदीको बाढीमा फसेका ५ जनाको उद्वार गरिएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर-४ को लालपुरघाटस्थित नदीको बीच टापुमा फसेका ५ जनाको सकुशल उद्वार गरिएको हो ।

ईलाका प्रहरी कार्यालय धामपुरको प्रहरी टोलीले मंगलबार दिउँसो २ बजेतिर उनीहरुको सकुशल उद्वार गरेको हो । स्थानीय लालपुर गाउँको उत्तरतर्फ नदीको बीच टापुमा रहेको गौशालामा गाई रेखदेख गर्न गएका स्थानीय ५ जना दिउँसो बाढीमा फसेका थिए ।

टापुमा फसेका राप्ती सोनारी-४ पसरामपुरका ५५ बर्षीय चुकीराम थारु, ५३ बर्षीय मायाराम थारु, ५१ बर्षीया बतासी थारु, ५० बर्षीय लोकबहादुर थारु र सोही वडाको सूर्यलालपुर गाउँ निवासी ३२ बर्षीय आशाराम थारुलाई ट्युव र सेफ्टी ज्याकेटको सहयाताले सकुशल उद्वार गरिएको प्रहरी कार्यालय धामपुरका ईन्चार्ज प्रहरी वरिष्ठ नायव निरिक्षक लक्ष्मीप्रसाद आचार्यले जानकारी दिनुभयो ।

गौशालामा रहेका गाईहरु भने सुरक्षित रहेको प्रहरीले जनाएको छ । टापुमा फसेको कुरा आशारामले राप्ती सोनारी-४ का वडासदस्य मंगल थारुलाई फोनमार्फत जानकारी गराएपछि प्रहरीलाई खबर गरिएको थियो ।

बाँकेमा नदीको तटीय क्षेत्रका स्थानीय बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ । जिल्ला आपतकालिन कार्यसंचालन केन्द्रका अनुसार बाँकेमा राप्ती नदीको बहाब ५.४५ मिटरभन्दा माथि पुगेको छ ।

प्रशासनले नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउनुका साथै नदीमा माछा मार्ने, नुहाउने, ओहोर-दोहोर गर्ने, दाउरा संकलन गर्ने जस्ता कार्य नगर्न आग्रह गरेको हो । जल तथा मौसम विज्ञान विभागले यसवर्ष राप्तीको कुसुमस्थित जलमापन केन्द्रको थ्रेसहोल्ड परिवर्तन गरी सतर्कता तह ६ मिटर र खतरा तह ७.८ मिटर कायम गरेको छ ।

Previous articleडुबेर हुने मृत्यु रोकथाम दिवस नेपालगंजमा मनाइयो
Next articleसुन काण्डमा मुछिएका डिएसपी केसी बर्खास्त

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here