
काठमाडौँ । नेपाल प्रहरीका डिएसपी ठगबहादुर केसीलाई बर्खास्त गर्ने निर्णय गरिएको छ । प्रहरी प्रधान कार्यालयले एक महिनाअघि गरेको सिफारिस अनुसार गृह मन्त्रालयमा सचिव दिनेश भट्टराईले केसीलाई मंगलबार बर्खास्त गर्नुभएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलमा रहँदा डिएसपी केसीले सुन व्यापारी किसन बिकसँग ‘घुस’ लिएको घटनामा निलम्बनमा पर्नुभएको थियो । प्रहरी हेड्क्वार्टरले केसीलाई बर्खास्त गर्न असार दोस्रो सातामा गृह मन्त्रालयमा सिफारिस गरेको थियो ।
बुटवलस्थित टेलिकम कार्यालय अगाडीबाट सुनसहित पक्राउ परेका किसनको साथबाट प्रहरीले ३६ तोला ३२ लाल सुन बरामद गरेको थियो । सो सुन फिर्ता गर्न केसीले नगद र चेक लिनुभएको थियो ।
केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले केसीको निवासबाट ८ लाख ५० हजार नगद र ९ लाख ५० हजारको चेक बरामद गरेको थियो । सुन रितपुर्वक बरामद नगरेको र ‘बदनियत राखेर लिन खान खोजेको’ तत्कालीन एसएसपी चन्द्रकुवेर खापुङ नेतृत्वको छानबिन समितिको निष्कर्ष छ ।
सुन वैध भए फिर्ता गर्नुपर्ने र अवैध भए राजस्वमा बुझाउनु पर्ने भएपनि डिएसपी केसीले बद्निय राखेको उल्लेख गर्दै समितिले प्रतिवेदनमा भनेको छ-‘सुन बरामद गरेपछि प्रचलित कानुन बमोजिम गर्नुपर्नेमा डिएसपीले आफ्नो पदीय दायित्व पुरा गरेको देखिएन ।’
समितिले भ्रष्टाचार ऐन अनुसार केसीमाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाउन सिफारिस गरेको थियो । समितिको सिफारिस अनुसार थप अनुसन्धान र कारबाहीको लागी प्रहरी हेड्क्वार्टरले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाएको छ ।





