
नेपालगञ्ज । बाँकेको बैजनाथ गाउँपालिकाका केही कर्मचारी बिदा नलिएरै बिदामा बसेका छन् । गाउँपालिका स्रोतका अनुसार पालिकाका केही शाखा प्रमुखहरु बिदा नलिएर बिदा बसेको खुलासा भएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहितका कर्मचारी राजधानी काठमाडौं पुगेका छन् । साथै पालिकाका योजना अधिकृत डोटी नेपाली, प्राबिधिक शाखा प्रमुख धर्मेन्द्र आचार्य, कृषि शाखा प्रमुख प्रमोद बिश्वकर्मा बिना बिदा कार्यलयमा अनुउपस्थित हुनुभएको छ ।
स्रोत अनुसार कार्यालयमा अनुउपस्थित सबै कर्मचारी काठमाडौमा आफ्नो व्यक्तिगत काम तथा घुम-घाममा छन् । प्रमुख प्रशासकीय अधिकृतलगायत एकैसाथ बिषयगत शाखा प्रमुख कार्यालयमा उपस्थित नहुँदा गाउँपालिकामा सेवा लिन पुग्ने सेवाग्राही रित्तो फर्किनु परेको सेवाग्राहीहरुको गुनासो छ ।
तर पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बिश्वराज ढकालले प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने बिदामा बसेको बताउनुभयो । यस्तै अन्य शाखा प्रमुखहरु पनि बिदा लिएर बिदामा बसेको जानकारी दिनुभयो । उहाँले प्रशासकीय अधिकृतले १० दिनका लागि बिदा लिएको तर कहिलेसम्म बिदा भनेर प्रशासनमा हेर्नुपर्ने समेत बताउनुभयो ।
पालिका कर्मचारी स्रोतका अनुसार शाखा प्रमुखहरुले बिदा नलिएर बिदा बसेका छन् भने कसैले प्रश्न उठायो भने फर्किदा बिदा लिने र बिदा बसेको मितिमा बिदा स्वीकृत गराउने योजनामा छन् ।
यसअघि पनि बैजनाथ गाउँपालिकामा कर्मचारीहरु कार्यालय समयमा उपस्थित नहुने गरेको र कार्यालय समय अगावै कार्यालयबाट निस्कने गरेको सेवाग्राहीको गुनासो छ ।





