
नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पतालले स्थापनाको १३३ औं वार्षिक उत्सव मनाएको छ । शुक्रबार अस्पताल परिसरमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै आफ्नो स्थपनाको १३३ औं वार्षिक
उत्सव मनाएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले भेरी अस्पतालले पश्चिम नेपालकै रिफरल अस्पतालको रुपमा महत्वपूर्ण योगदान गरिरहेको बताउनुभयो । भेरी अस्पताल संघ मातहत रहेपनि प्रदेशले विभिन्न समयमा सहयोग गर्दै आएको मन्त्री खनालले जानकारी दिनुभयो ।
सबै जिल्ला अस्पतालमा कम्तीमा विशेषज्ञ सेवा दिनुपर्ने भन्ने प्रदेश सरकारको मान्यता रहेको र यसका लागि ती जिल्लामा खटिने चिकित्सक र स्वास्थ्यकर्मीका लागि थप सुविधाको सुरुवात गरेको बताउनुभयो ।
अस्पताल बिकास समितिका अध्यक्ष बीरेन्द्र बहादुर शाहले अस्पतालको बिकास एक जनाले मात्रै चाहेर नहुने भएकाले सबैको सहयोग सहकार्य आवश्यक रहेको बताउनुभयो । अध्यक्ष शाहले बिगतमा जे भयो राम्रो भएको भन्दै अब हुन नससकेको प्रभावकारीताको बिस्तार र समस्या समाधान गर्नेतर्फ आफु लाग्ने बताउनुभयो ।
वार्षिकोत्सवमा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.बद्री चापागाईले अस्पतालमा सुधारको धेरै प्रयास गरिएको भन्दै यसलाई भौतिक र जनशक्तिको माध्यमबाट थप सशक्त बनाउन आवश्यक भएको बताउनुभयो ।
से अवसरमा बाँकेका प्रमुख जिल्ला अधिकारी बिपिन आचार्य, नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्दिन राई, कोहलपुर नगरपालिकाका मेयर प्रशान्त बिष्ट, नेकपा एमाले बाँकेका अध्यक्ष किस्मत कुमार कक्षपति, नेपाली कांग्रेस बाँकेका सचिव सुधान्सु कोइराला, अस्पतालका पूर्व अध्यक्ष डा.श्यामसुन्दर यादव लगायतले अस्पतालको बिकासका बारेमा चर्चा गर्नुभएको थियो ।
वि.स. १९४७ सालमा संघीय राजधानीमा रहेको वीर अस्पतालसँगै सात शय्याबाट शुरु भएको भेरी अस्पताल हाल १५० शय्यामा सञ्चालित छ । अस्पताललाई ५०० शय्याको रुपमा स्तरोन्नति गर्ने प्रयास र योजना अघि सारिएको छ ।









